भेषजराज साहित्य सम्मान पुरस्कार कर्माचार्य र रेग्मीलाई 

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

भेषजराज साहित्य प्रतिष्ठानद्वारा भेषजबिन्दु साहित्यिक पुरस्कार र भेषजराज साहित्य सम्मानबाट यस पटक क्रमशः जिल्लाकै पहिलो महिला कृतिकार गङ्गा कर्माचार्य पौडेललाई र स्रष्टा ज्ञानेश्वर रेग्मीलाई प्रदान गरिएको छ । जिल्लाको वालिङमा आयोजित कार्यक्रममा स्याङ्जाली वरिष्ठ साहित्यकार वालिङ प्रज्ञा प्रतिष्ठानका कुलपति देवीप्रसाद वनवासीले भेषजराज शर्माले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउनु भएको बताउनुभयो ।

आफ्नो पाथे भाइका रूपमा रहनु भएका शर्माका कुनै सन्तान नहुँदा पनि भेषजराज साहित्य प्रतिष्ठानले उहाँका नाममा पुरस्कार स्थापना गरी प्रत्येक वर्ष प्रदान गर्ने गरेकाले प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिनुभयो । कार्यक्रममा आनन्दमणि टुल्की नन्दकला प्रतिष्ठानका अध्यक्ष, पूर्व मन्त्री एवम् लघुकथा समाज स्याङ्जाका अध्यक्ष त्रिलोचन ढकालले स्वर्गीय शर्माको साहित्यीक, शैक्षिक तथा राजनीतिक क्षेत्रको योगदानका बारेमा चर्चा गर्दै उहाँका सम्पूर्ण पद्य रचनाहरूको सङ्ग्रह भेषजराज रचनावली – १ पद्य सङ्ग्रह प्रकाशित गरेकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् सल्लाहकार डा।अच्युतशरण अर्यालले प्रतिष्ठानले मासिक रूपमा नियमित रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वालिङ वडा नं। –८ का वडाध्यक्ष कमल सुवेदीले सम्मानित एवम् पुरस्कृत व्यक्तित्व गङ्गा कर्माचार्य पौडेल र ज्ञानेश्वर रेग्मीलाई हार्दिक बधाई व्यक्त गर्नुभयो ।

यसै प्रतिष्ठानका संस्थापक उपाध्यक्ष, सल्लाहकार एवम् प्रतिभा छनोट समितिका संयोजक प्रेमराज लुइँटेलले पुरस्कृत व्यक्तित्व गङ्गा कर्माचार्य पौडेलको जीवनी र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बुद्धिजीवी परिषद् स्याङ्जाका अध्यक्ष गोपाल पौडेल, टापुभञ्ज्याङ मा।वि।का प्रधानाध्यापक हेमराज अर्याल लगायतले बोल्नुभएको थियो ।

यसैगरी लीलाधर खगिसरा स्मृति सेवा सम्मान अक्षयकोषका अध्यक्ष टीकाराम पराजुलीले अक्षयकोषको स्थापनाको कारण र महत्व प्रस्तुत गर्दै भेषजराज साहित्य प्रतिष्ठानलाई रु। ५ हजार ५ नगद राशीको लीलाधर खगिसरा स्मृति सेवा सम्मान प्रदान गर्नुभएको थियो । यसै कार्यक्रममा भेषजराज रचनावली – १ पद्य सङ्ग्रह, भेषजराज शर्माका कविता र गण्डकी प्रदेशका नेवारको इतिहास गरी तीन वटा कृतिहरूको लोकार्पण गरिएको थियो ।

स्व. भेषजराज शर्माका हाल सम्म प्राप्त फुटकर कविता, संस्कृत भाषामा लेखिएका कविताहरू, दुईवटा खण्ड काव्यहरू आँधीखोलाको बगर र धनियाँ खण्डकाव्य समेत समावेश गरिएको भेषजराज रचनावली–१ पद्य सङ्ग्रहको समीक्षा गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष अनन्तराज अर्यालले गर्नुभएको थियो ।

सोही कार्यक्रममा गङ्गा कर्माचार्य पौडेलले लेख्नुभएको गण्डकी प्रदेशका नेवारको इतिहास नामक कृतिको लोकार्पण गरिएको थियो भने कृतिको समीक्षा वालिङ बहुमुखी क्याम्पसकी उपप्राध्यापक इन्दु श्रेष्ठले गर्नुभएको थियो ।

यसै कार्यक्रममा श्रवण कुमार प्रतिष्ठान नेपालका अध्यक्ष सीताराम अधिकारी, वैकल्पिक बाटो पृथक पाइला साहित्यिक अभियान–२०७६ का अभियन्ता मिलन समीर, भेषजराज साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष शम्भु अर्याल, सदस्य लेखनाथ काफ्ले, पाइनियज बोर्डिङ स्कुलका नेपाली विषय प्रमुख बोधराज न्यौपाने, वालिङ बहुमुखी क्याम्पसकी उपप्राध्यापक विष्णु सुवेदी गैरे, भेषजराज साहित्य प्रतिष्ठानका आजीवन सदस्यहरू वसन्त खनाल र कमल बगाले, पूर्व शिक्षक ताराप्रसाद पंगेनी, वसन्ती अधिकारी, प्रशान्त बगाले, सम्भव ढुङ्गाना लगायत दर्जनभन्दा बढी स्रष्टाहरूले कविता, गजल, गीत र लघुकथा सुनाएका थिए । कार्यक्रममा वरिष्ठ चराविद्, चित्रकार हेम पौडेलको पनि उपस्थिति रहेको थियो ।