हमालको डाँडापारि सार्वजनिक



ख्यातिप्राप्त अभिनेता राजेश हमालद्वारा अभिनित नयाँ म्युजिक भिडियो डाँडापारि सार्वजनिक गरिएको छ । हालै, राजधानीमा आयोजित एक विशेष समारोहका बीच प्रिमियरसहित सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत रहेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा गीतका मुख्य कलाकार अभिनेता हमालले डाँडापारिको म्युजिक भिडियोमा अभिनय गर्न पाउँदा खुसी लागेको जनाउँदै अमेरिकामा रहेकी गीतकार तथा संगीतकार यमुलाई सम्झिए ।

‘विदेशमा रहेर पनि यमु शर्माजीले गीतसंगीत प्रति देखाएको मायाका कारण पनि मलाई अझ खुसी लाग्यो। यमु शर्मा भन्नेबित्तिकै उहाँले नेतृत्व गरिरहनुभएको मेची–महाकाली बुहारी संयुक्त आवाज पनि जोडिन्छ। संस्थाले महिलाको हकहितका लागि गरेको काम देख्दा खुसी लागेको छ’ हमालले भने ‘आज एउटा म्युजिक भिडियो रिलिज मात्र होइन, भिडियोसँगै थुप्रै कुराहरू जोडिएको छ।’ कार्यक्रममा गीतका गायक रामकृष्ण ढकाल र गायिका कविता श्रेष्ठले राम्रो गीत गाउने अवसर दिएको भन्दै गीतको निर्माता, गीतकार तथा संगीतकार यमुलाई धन्यवाद दिए।

म्युजिक भिडियोको निर्देशन आयुष क्षेत्रीले गरेका हुन् । कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजको तर्फबाट महिला फुटबल खेलाडी अस्मिता रनपललाई हमालले ५० हजार रुपैयाँ हस्तान्तरण गरे। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा फुटबल खेलेर देशभर नाम कमाइसक्दा पनि आर्थिक स्थिति दयनीय भएको भन्दै भोलिको दिनमा खेल्नमा थप हौसला बढोस् भन्दै संस्थाले रकम हस्तान्तरण गरेको हो। सहयोग रकम लिँदै अस्मिताले आवाजले आफूलाई यसअघि पनि धेरैपटक सहयोग गरेको बताइन् ।

कार्यक्रमको पहिलो चरणमा सहयोग हस्तान्तरण र म्युजिक भिडियो सार्वजनिक गरियो भने दोस्रो चरणमा संस्थाले गरेका कामसँगै विभिन्न जिल्लाबाट आएका जिल्ला संयोजकले बोलेका थिए। कार्यक्रमका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अभिनेता हमालको कामप्रति प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्