कामका लागि भारत गएका १ सय ६५ बेपत्ता

0
Shares

विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १ सय ६५ जना बेपत्ता भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका अनुसार यहाँका नागरिक यति ठूलो संख्यामा बेपत्ता भएका हुन् ।

भारतका विभिन्न शहरमा मौसमी र बेमौसमी कामदारका रूपमा करिव ६ लाख श्रमिक असंगठित तवरले श्रम गर्दै आएको उक्त संस्थाले जनाएको छ । कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरूपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताउनुभयो । ‘कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनुपरेको छ, त्यसैअनुरुप अधिकांश श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ ।’ –उहाँले भन्नुभयो ।

नेपाली श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमीकहरुको गुनासो छ । भारतमा हुने श्रम शोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उतै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुहुन्छ– ‘ऋण लागेर कमाउन भारत गएकाहरु त्यहाँ दुःख पाउने गरेका छन्, दुःख सहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन् ।’ भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको उहाँको आरोप छ ।

लाखौंको संख्यामा श्रमका लागि भारत पसेका नेपालीमध्ये बेपत्ता हुने क्रम बढ्दै जाँदा समेत यो विषयलाई राज्यपक्षबाटै उपेक्षा गरिँदै आएको यहाँका स्थानीयको आरोप छ । भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ भएकै कारण कुटपिट, लुटपाट, बेपत्ता र हत्यासमेत हुने गरेको इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशी ‘समर्पण’ले बताउनुभयो । ‘श्रमिकको अवस्था बुझनुपर्ने नेपाली दूतावास मौन छ, बेपत्ता भएकालाई कसले खोज्ने ?’ –उहाँको प्रश्न छ । भारत गएकाहरुसँग श्रम सम्झौताको व्यवस्था नहुँदा नेपाली श्रमिकले भारतमा असुरक्षित भएर श्रम गर्नु परिरहेको जोशीको टिप्पणी छ ।