तीन तहका निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्छ: महामन्त्री कोइराला



काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा शशाङक कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताउनुभएको छ ।

कांग्रेस १४औँ महाधिवेशनको उद्घाट्न समारोहमा आज उहाँले धर्म निरपेक्षता र सापेक्ष नभई स्वतन्त्र हुने बताउँदै आगामी दिनमा कृषिमा बजेट विनियोजन बढाउँदै मुलुक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अर्का महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानअनुसार पार्टीको विधान बनाई सङ्घीय संरचना अनुसारका पार्टीको तहको निर्वाचन सम्पन्न भइ महाधिवेशनसम्म आइपुगेको बताउनुभयो ।

विगतको सरकारले गरेका लोकतान्त्रिक र संविधान विपरितका क्रियाकलापलाई सुधार गरी संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आइपुगेको उहाँको भनाइ थियो । उहाँले आगामी छ महिनापछि हुने तीन तहका निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

कोषाध्यक्ष सितादेवी यादवले विपीजस्ता महामानव र गणेशमान सिँहजस्ता त्यागीको इतिहास रहेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई एकताको महाधिवशेन बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “एकता र उत्साहपूर्वक सम्पन्न गर्ने पार्टी कार्यकताको भावना अनुरूप यस पटक कुनै पदमा उम्मेदवारी नदिने तर पार्टी र जनताका सेवामा म निरन्तर लागि रहने छु ।” नेताहरूको सम्बोधन गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्