भक्तपुर युवक हत्याकाण्ड : मुख्य योजनाकारसहित दुईको तस्बिर सार्वजनिक

सत्यतथ्य छानबिन गर्न युवा संघको माग


पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घट्नालाई पारदर्शी र प्रभावकारी ढंगले अनुसन्धान गर्न युवा संघ नेपालले माग गरेको छ । युवा संघ नेपाल भक्तपुर जिल्लाले आज नयाँथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले बीभत्स र क्रुर तबरले गरिएको हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे देशभरका युवाले आन्दोलन चर्काउने बताउनु भयो ।

उहाँले सत्य तथ्य बाहिर ल्याउन माग गर्दै योजनाबद्ध रूपमा भएको यो हत्या संघीन अपराध हो भन्नुभयो ।युवा संघको जिल्ला सदस्यको हत्या भए लको भएर मात्रै होइन, देशको एउटा होनाहार युवाको हत्या भएको  भन्दै  प्रहरीले यो घट्नालाई औपचारिकता मात्रै दिएर तथ्यसम्म नपुगी अनुसन्धान रोक्न नहुने बताउनुभयो ।

पक्राउ परेको दुई जनालाई मात्रै देखाएर अब ड्युटी सकियो भन्ने नठान्न प्रहरीलाई आग्रह गर्दै उहाँले घटनास्थल भन्दा केही पर एउटा घर कम्पाण्डदेखि फलामको रेलिङको रगत के हो ?, घट्नामा अरू को को संलग्न छ, त्यसको तथ्य रूपमा छानबिन गरी बाहिर ल्याउनु पर्ने अध्यक्ष पौडेलले बताउनु भयो ।

राज्यले आम नागरिकको सुरक्षाको व्यवस्था गर्नुपर्छ भन्दै उहाँले यो घट्नामा नदेखिएका अरू अनुहारलाई प्रहरीले कानूनी दायरामा ल्याएर सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युवां संघ भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले आपराधिक ढङ्गबाट आफ्नो कार्यकर्ता हत्या भएको भन्दै घटनाको घोर निन्दा र भर्त्सना गरेको बताउनु भयो । उहाँले हत्या जुनसुकै बहानामा गरिएको भए पनि तत्काल दोषीलाई कडा भन्दा कडा कारबाहीको गर्नुपर्ने माग गर्नु भयो ।

मृतकका आफन्त स्थानीय भाइकृष्ण श्रेष्ठले घट्नामा दुई जना भन्दा बढीको संलग्नता रहेको आंशका भएकाले प्रहरीले अनुसन्धानलाई अन्तिम चरणसम्म पुर्‍याउनु पर्ने, निरन भट्टराईको घरको कम्पाउण्ड भित्र भेटिएको रगतको सत्यतथ्य छानबिन नगरी प्रहरी यो घट्नाबाट उम्कन नपाउने बताउनु भयो ।

उहाँले हत्या आरोपी भनिएका हेमन्त श्रेष्ठ राती पनि घटनास्थलमा आएर थाहा नपाए झैँ गरेको र भोलि पल्ट शव राखेको मध्यपुर अस्पतालमा समेत आएर मृतकको आफन्तसँग बसेर सँगै चिया खाएर थाहा नपाए झैँ गरेको, तीन दिन अघि नै हत्या गर्ने योजना बनेकोसम्म खुलेकाले घट्नामा अरूको पनि संलग्नता रहेको हुन सक्ने बताउनु भयो ।

पत्रकार सम्मेलन पछि युवा संघले हत्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शंखधर चोकमा प्रर्दशन गरेर चक्का जाम समेत गरेको छ । युवा संघका जिल्ला कमिटी सदस्य समेत रहेका श्रेष्ठको मंसिर २१ गते राती आफ्नै साथी सुर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ (मुख्य योजनाकार) र मोरङ लेटाङ घर भई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम विश्वकर्माले कुटपिट गरी बीभत्स रूपमा हत्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले बिहीबार साँझ हेमन्त र विश्वकर्माको तस्बिर समेत सार्वजनिक गरेको छ । पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी  प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

मृतकका आफन्तले  आज पनि महानगरीय प्रहरी वृत्त थिमि पुगेर घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।घटनामा पक्राउ परेका दुई जना आरोपीबाहेक अन्य पनि संलग्न हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरूले अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरेका छन् ।