कांग्रेस महाधिवेशन उद्घाटनमा जालान् एमाले अध्यक्ष ओली ?


न्युज अफ नेपाल, काठमाडौं ।

अस्वस्थ भएर प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कारमा सहभागी नभएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार उद्घाटन हुने कांग्रेस महाधिवेशनलाई शुभकामना दिन जालान् ? विहीबार ओली अस्वस्थ भएको समाचारपछि संशय उत्पन्न भएको छ ।

यद्यपि बुधबार विहान महाधिवेशनमा आइदिनका लागि अनुरोध गर्न बालकोट पुगेका कांग्रेस सहमहामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिनिधि डा. प्रकाशशरण महतलाई भने ओलीले आफू भृकुटीमण्डपको उद्घाटन समारोहमा आउने आश्वासन दिएका थिए ।

यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने बताएका थिए । ओलीको आतिथ्य निश्चित गर्न गएका महतले पनि एमाले अध्यक्ष सहभागी हुने बताएका छन् ।

एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएर शुभकामना दिएका थिए । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड(माधव समूहले निर्णायक कदम चालेदेखि यी तीन नेता एकै मञ्चमा उपस्थित भएका छैनन् ।

शुक्रबार कांग्रेस महाधिवेशनमा ओली उपस्थित भए भने प्रचण्ड-माधवसँग पहिलोपटक एकै मञ्चमा भेटिनेछन् । ओलीको स्वास्थ्यमा रुघाका कारण समस्या भए पनि कांग्रेस महाधिवेशनमा जाने निर्णय रद्द नभएको सचिवालयले जनाएको छ ।