पाठकको दृष्टिमा द सेकेण्ड गड उपन्यास



  • केशव थापा

मानिस अनुभवको पुञ्ज हो । आम मानिसले प्रत्यक्ष, परोक्ष अनुभूत गरेको तर सहज अभिव्यक्त गर्न नसकेको शाश्वतसत्यबाट उठान भएको नारायण निरौलाद्वारा द सेकेण्ड गड उपन्यासमा विद्वान नारायण पोख्रेलको भूमिकासहित ते-ह अध्याय रहेका छन् । फेसबुक, टिकटके बजारले अधैर्र्य बनाएको वर्तमानका पाठकलाई एउटै गहन विषयमा लामोसमय गंभीरतापूर्वक घोत्लने, चिन्तन गर्ने अभ्यासबाट बिस्तारबिस्तार विमुख बनाउँदै लगेको सन्दर्भमा भूमिका लेखकले उपन्यासको साङ्गोपाङ्गो सबै पक्षलाई उधिनेर केस्राकेस्रा बनाई पानारुपी किस्तीमा राखिदिएर पाठकलाई कृतिको बारे बुझ्न निकै सजिलो बनाई दिनु भएकोछ ।

नारायण पोख्रेलरुपी सूक्ष्मदर्शक यन्त्रले उक्त कृतिमाथि नजर लगाउँदा दृष्टिविहीनले हात्ती छामेजस्तो हचुवा नहुने तथ्यमा पाठकहरु निश्चििन्त हुन सक्नुहुन्छ । अतः यो खण्ड सिर्फ भूमिकाको लागि भूमिका नभएर देख्दा सानो तर पारो (मर्करी) जस्तै ग-हुङ्गो कृति द सेकेण्ड गडको कल्की नै हो भन्दा अत्युक्ति हुने देखिदैन । कृतिमाथि डुबुल्की लगाउन रहर गर्ने पाठकहरुलाई उक्त भूमिकाले अझ भोक जगाउने रसायनको काम गर्ने तथ्यमा विश्वस्त हुन सकिन्छ ।

पछिल्लो अध्यायहरुमा उदाएका उपन्यासका प्रमुख पात्रहरु (युवक, परीक्षणपुत्री र करस र तितक) जान चम्किलो महायानमा चढेर हात हल्लाउँदै सुमेरु पर्वततर्फ प्रस्थान गरेपछि विस्फोनले पनि केही गर्न नसकेको ‘म’ (युवकको जन्मदाता, स्रष्टा) ले महाप्रलयको अन्धकारभित्र पनि कताकता क्षितिजमा प्रकाशको किरणहरु निस्किरहेको देखिरहेको थियो भन्ने कथनले बाँच्नलाई आशावादी बनाउने अर्थात कालोबादलमा पनि मनग्गे चाँदीको घेरा देख्ने र महावर्वादिभित्र पनि नवनिर्माणको महायज्ञ थालनीको अनुभूत गर्ने सकारात्मक दृष्टिकोणकोसाथ उपन्यासको बैठान भएको छ ।

संसार समाप्त हुँदा पनि कोही न कोही एक–‘म’ बाँचेकै हुन्छ भन्ने सन्देश उपन्यासले दिन खोजेको प्रतीत हुन्छ । यस आलोकबाट हेर्दा संतोष दाहालको आवरणचित्र निकै सान्दर्भिक देखिन आउँछ ।आफू खोज, अनुसन्धान र ज्ञानका भकारी भएर पनि सन्तानलाई यथोचित शिक्षित तुल्याउन पूर्ण असफल प्रो डा.डी.बीं भण्डारी वा ज्ञानज्योतीले धपधप बलेका पिताश्रीबाट विरासतस्वरुप ज्ञानरोशनी प्राप्त गरेर रातको चन्द्रमा जति पनि बस्तीमा उज्यालो छर्न अक्षम, असफल सन्तान उपन्यासका अघिल्ला पात्रहरु भएर देखा परे पनि प्रो. भण्डारीको महाप्रस्थान लगत्तै उनका सन्तानले फ्यालेको अनगिन्ति सामाग्रीहरुको थुप्रोबाट यायावरयुवक (उबराञ्चल विश्व विद्यालयको विज्ञान प्रयोगशालामा काम गर्ने मानिस) ले फेला पारेको हरियो नोटबुकबाट रहस्यबाट यो उपन्यासको राजमार्ग तयार भएको छ ।

प्रो. भण्डारीको दिव्यचक्षुले यो जगतमा भविष्यमा घट्न सक्ने संभावित घटना र सोको अन्तिम परिणामलाई अनुमान गरेर लेख्दै गरेको अधुरोकृतिको पाण्डुलिपिका रुपमा रहेको उक्त हरियो नोटबुकलाई पूर्णाकृतिको रुप प्रदान गर्दा हुन सक्ने संभावित घटना, दुर्घटनाको पटाक्षेपसँगै उपन्यासको बिसौनीमा पुगिन्छ । यायावर युवकले लामो समय लगाएर कष्टकासाथ प्रो. भण्डारीको अनुरोध बमोजिम नोकबुकलाई पूर्णता प्रदान गर्दा पनि नामकरणमात्र भएका पात्रहरुले आफूमाथि न्याय नभएको असंतुष्टि व्यक्त गरेको देख्दा साक्षात्कार भएको खण्डमा सिर्जनासर्जकसँग कहिल्यै संतुष्ट हुँदा रहेनछन् कि झै पो लाग्छ ।

हरियो नोटबुक बोकेर क्षेत्रपति पुग्न लम्एिको युवक नदीतटको सुन्दर स्थानमा टक्क अडिएर नजर यताउता नचाउँदा देख्छ –‘मूलघाटमा तपाईंलाई स्वागत छ’ (पृष्ठ—२७ ) ले कवि स्व. क्षेत्रप्रताप अधिकारीको ‘जिन्दगीमा के के गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ’ भन्ने भनाइलाई पुनर्पुष्टि गर्छ । क्षेत्रपति पुग्ने ध्येयकासाथ अघि बढ्दा बासको क्रममा भेटिएकी साहुनीले मसक्क मस्केर उज्यालो मुहार बनाउँदै सबैले आफूलाई साइँली भन्छन् र पानीको स्वाद तिर्खा हुँदोरहेछ (पृष्ठ २८) भनी पसले युवती साहुनीको ध्यानाकृष्ट गराउने युवकको संवादले पाठकलाई छुट्टै आनन्द प्रदान गर्छ ।

आफ्नो प्रयोग संबन्धी विचारमा सहकर्मीहरुलाई सहमत गराउन नसकेपछि नकरात्मकता र बदलाभावको जञ्जीरमा जेलिएका प्रयोगबस्तीका प्रबन्धकलाई ‘वर्वादीको बाटो सजिलो लाग्यो ।’ (पृष्ठ ३०) ले अति गहन अर्थ बोकेको छ । भरिएको पेटले मात्र इच्छाशक्ति बढाउन सक्छ (पृष्ठ ३९) । आधुनिक मानवहरु भगवानलाई सराप्छन् अनि आफू भगवान भएको बिर्सन्छन् (पृष्ठ ) ले संभवत पराम्परागतरुपमा पूजित ईश्वरपछिको दोस्रो ईश्वर तिमी नै होै भनी पाठक वा यो धराबासी मानिसलाई बताउन कृतिको न्वारान नै ‘द सेकेण्ड गड’ राखिएको होला भनी अनुमान लगाउन सकिन्छ । यो अनुमानलाई उपन्यासको पृष्ठ १२७ मा उल्लिखित ‘आखिर मान्छे स्रष्टा रहेछ, निर्माता रहेछ, सिर्जित रहेछ, विनाशक रहेछ । विश्वको जुन कुनामा बसे पनि मान्छे वास्तवमा सेकेण्ड गड रहेछ ।

’ भन्ने तथ्यले पनि सत्य ठह¥याउँछ । युवक आफ्नो लक्ष्यको (हरियो नोटबुकमा वर्णित रहस्यभूमि क्षेत्रपति पुग्ने ) को कारण जवानीको रसरङ्गमा वहकिन सक्दैन थियो उता साँइली साहुनी पनि नैतिकको सिमाना मिच्न सक्दैन थिई (पृष्ठ ४७) । जीवन सबै कुरा हो । सजिलो लाग्नेहरु बाँच्न प्रयास गर्छन, कठिन सोच्नेहरु वैराग्यको बाटो रोज्छन् (पृष्ठ ५४) । ‘म’ मात्र भएर बाँच्न नसके पनि मानिस फेरि पनि एक्लो नै छ –पृष्ठ ५५) । नयाँ मानिस, नयाँ घर, नयाँ संस्कार, नयाँ भाषा, नयाँ गाउँ, नयाँ पहिरन आखिर यी सबै बाँच्नका लागि (पृष्ठ ५७) । ‘म माटोमा मिल्छु । मेरो प्राण पवनमा गएर मिल्छ, ।

रगत माटोमा सिंचिन्छ । हाड र मासु माटो बन्छन् । आत्माको तेज ब्राम्हण्डमा गएर मिल्छ (पृष्ठ ६०) ।’ यी गद्यांशले पूर्वीय दर्शनको मान्यता– अंश अंशीमा गएर मिल्छलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ ।परीक्षणपुत्री (हरियो नोटबुकमा उल्लिखित प्रयोगबस्ती अरुणटारमा प्रयोग प्रयोजनको लागि अन्तैबाट ल्याइएकी भिन्न नश्ल भएकी महिला) गम्भीर भएर सुनी र सोची–यदि मेरो कामेच्छाका कारणले भञ्ज्याङ्गे (बैंशले लपालप भरिएको परीक्षण बस्ती नजिकको पृथ्वीतलमा बस्ने एक वयष्क गोठालो) भेट नभएको भए यिनीहरु ( करस, तितक ) जन्मने नै थिएनन् । यिनीहरु नजन्मेका भए यिनीहरु आज समस्या नै आउँने थिएन ।

वास्तवमा हरेक समस्याको जड चाहे भौतिक÷अभौतिक जे होस् जन्मबाटै शुरु हुँदोरहेछ (पृष्ठ १०३) ले एकपटक पाठकलाई सोच्न वाध्य तुल्याउँछ–कुरा सही नै भए पनि कुनै जननीले आफ्नो कोख र सन्तानप्रति यसरी नै प्रायश्चित गर्छिन होला र ? पृथ्वीका मानिस बिरामी छन् । तर बिरामी छु भन्ने थाहा पाउँदैनन् । बेहोसमा जीवन चलेको छ । ….जीवन जीवनजस्तो छैन । जीवन आवरणमा बित्छ (पृष्ठ ११२) । ठोस, तरल र ग्यास गरेर प्रकृतिका तीनवटा रुप हुन्छन् । मानिस पाएको जीवन नभोगेर जीवन के हो भनी पछि लागिरहेका छन् (पृष्ठ ११३) । स्रष्टाले सिर्जितलाई भेट्नु हुँदैन । सिर्जितले स्रष्टालाई भेट्नु हुँदैन । के होला भेट्यो भने (पृष्ठ ११६) ? विभिन्न पिण्डहरुमा हरेक जीव वा निर्जीव वस्तुहरु सबै–सबै अदृश्य शक्तिबाट सञ्चालित अनेक रुपका पात्र हौं (पृष्ठ १२७) । यी त केही उदाहरण मात्र हुन–कृतिभित्र यत्रतत्र छरिएर रहेका महत्वपूर्ण बौद्धिक खजानाका ।

प्रसङ्ग नबिराइ धैर्यतापूर्वक पढ्दै गए कहिले मज्जैले मथिङ्गल रिङ्रग्याउने, कहिले एकाएक कल्पनाको संसारमा सयर गराउने, कहिले लौ न अहिले नै संसार समाप्त हुने भयो भनेर भयग्रस्त बनाउने अनगिन्तिी प्रसङ्ग र परिवेशहरु अङ्कित छन्, कृतिमा । जीवनका शाश्वतसत्य मिलन-वियोगको अलि खुकुलो गाँठोले कसेर पाठकलाई धरधर नरुवाए पनि विज्ञान, काल्पनिकता र प्रयोगधर्मिताले पाठकलाई सन्न बनाएर बेग्लै प्रकारको आनन्द र संतुष्टि प्रदान गर्न उपन्यास सफल भएको छ । साहित्येतर म जस्तो सामान्य पाठकले उपन्यासभित्र पहिल्याउन नसकेका गुत्थी थुप्रै छन् । साहित्यिक समीक्षकहरुबाट ती रहस्यको यथोचित उत्खनन् र व्याख्या होला भनी आसा गर्न सकिन्छ ।

स्वैरकल्पनामा कावा खान चाहने, अंग्रेजीभाषाका र सूचना–प्रविधिमा पोख्त उपन्यासकार श्री निरौला (हाल सिद्धार्थ वनस्थली इन्स्टिच्यूट, काभ्रेको प्राचार्य ) ले काल्पनिकताको अगेनोमा विज्ञानको प्रेसर कुकरभित्र विशेष गरेर भावी दिनमा मानवजातीले बेहोर्नुपर्ने संभावित आरोहावरोह (पृष्ठ ९७ मा उल्लिखित) भकभक उमालेर सबैको ध्यानाकृष्ट हुने गरी सिठ्ठी लगाउन सफल हुनु भएको छ । कृतिभित्र अन्तर्निहित गुदी, पुस्तक छपाईको स्तरीयता, वर्तमान महगाँईको पृष्ठभूमिमा हेर्दा रु. २७५ ।

मूल्य शुलभ प्रतीत हुन्छ । नेपाली साहित्यको श्रीबृद्धि र पाठकहरुको अलि उच्चकोटी र बेग्लै स्वादको कृति चाख्ने रहर मेटाउने गरी पुस्तक प्रकाशन गर्ने बीएन पुस्तक संसार प्रा.लि. पनि साधुवादको लागि योग्य देखिन्छ । प्रकृति र पुरुषको समागम सृष्टिको कारण भए झै कुनै पात्र वा घटनाले सर्जकको कल्पनाशीलतालाई रत्याएर वा अत्याएर रतिरागमा संलग्न गराए पछि नै कृतिको जन्म हुने भएकोले नै सर्जकहरु प्रशवपीडाबाट गुज्रनुपर्छ र सर्जकका लागि कृति सन्तानतुल्य प्रिय हुन्छन् भनिएको होला ।

यदि यसो हो भने यो कृति जन्माउन लेखक नारायण निरौला कष्टसाध्य प्रसवपीडाबाट निकै छटपटिनु भयो होला भनी लख काट्न सकिन्छ । पहिलो सन्तानको रुपमा सार्वजनिक भएको द सेकेण्ड गड उपन्यासले एक असल सन्तानको हैसियतले लेखकको व्यक्तित्वमा सफल उपन्यासकार, साहित्यकार जस्तो सम्मानित चाँद जड्न सफल हुने तथ्यमा विश्वस्त हुन सकिन्छ ।

–काभ्रे, मल्पी ।

प्रतिक्रिया दिनुहोस्