विमल विष्ट, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गएको बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । बिमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि मन्त्री आलेको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले तीन वटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको छ ।
सटल बसहरुले धामाधम सेवा दिन थालेपछि यात्रुलाई अहिले निकै राहत भएको आफुले बुझेको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री तारा लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “सटल बस सेवाले यात्रुलाई निकै राहत भएको छ, म पनि आज त्यहि बस चढेर गोल्ड गेटसम्म आए यात्रा राम्रै भयो ।” सटल बस सेवा सञ्चालन गर्नु भएकोमा मन्त्री लामाले पर्यटन मन्त्री आलेलाई धन्यबाद समेत दिनु भएको छ ।
तीन वटा सटल बसहरुले दैनिक रुपमा बिहानदेखि बेलुकी सम्म आफ्नो सेवा दिन थालेपछि ट्याक्सी चालकको झनझटबाट यात्रुहरुले मुक्ति पाएको अर्का यात्रु विनोद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिगतमा कतिपय ट्याक्सी चालकले निकै दुःख दिने गरेका थिए, मन्त्री आलेको पहलमा सटल बस सुरु भएपछि अब यात्रुलाई सहज भएको छ ।”
मन्त्री आलेको निर्देशन पछि सटल बस सेवाले बिमानस्थलदेखि गोल्डेन गेट र गोल्डेनदेखि बिमानस्थल सम्म निःशुल्क सेवा दिँदै आएपछि त्यहाँ यात्रा गर्ने सयौँ यात्रुलाई सहज भएको छ । सटल बस सेवा सुरु भएपछि यात्रुका सर सामानदेखि अन्य कुराहरु गोल्डेन गेट सम्म लैजान र बिमानस्थल सम्म पु-याउन सहज भएको बिमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्री ज्युको पहलमा सटल बस सेवा सुरु भएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ, उक्त कामको यात्रुले खुलेर प्रशंसा गरीरहेका छन् ।” मन्त्री आलेले यात्रुका लागि सटल बस सेवा सुचारु गरेपछि अहिले यात्रुहरु निकै खुसी हुनुका साथै मन्त्री आलेलाई धन्यवाद समेत दिन थालेका छन् ।
विमानस्थलका महाप्रबन्धक भोला गुरागाईका अनुसार सटल बसहरुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन भइरहेका छन् । तीन वटा सटल बसले आन्तरिक टर्मिनलदेखि विमानस्थलको गोल्ड गेटसम्म यात्रुलाई निःशुल्क सेवा दिने भएका छन् । यति मात्र नभई मन्त्री आलेको निर्देशनमा विमानस्थलले वैदेशिक रोजगारका लागि विभिन्न मुलुक जाने श्रमिकहरूका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर पनि सञ्चालनमा ल्याइएको छ ।
विश्राम स्थल नभएका कारण वैदेशिक रोजगारमा जाने तथा त्यहाँबाट फर्किने नागरिकले यसअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता रहेको थियो । विश्राम स्थल शुभारम्भ भएपछि उक्त समस्या पनि समाधान भएको छ । उक्त विश्राम स्थलमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्ज, फ्लाइट डिस्प्ले, वाईफाई र मन्त्रालय/विमानस्थलको हटलाइन नम्बर राखिएको छ ।
वैदेशिक रोजगारमा जाने यात्रुहरूलाई कुनै समस्या परे उक्त हटलाइनमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । हाल कुल २५ जना क्षमता भएको उक्त विश्राम स्थल निकट भविष्यमा ३०० व्यक्ति अटाउने क्षमताको बनाइने योजना रहेको मन्त्री आलेले जानकारी दिनुभयो ।
प्रतिक्रिया