न्युज अफ नेपाल, भद्रपुर ।
जङ्गली हात्तीको उपद्रोले आजित भएका झापाका उत्तरी क्षेत्रका स्थानीयले वैकल्पिक खेती लगाउन बाध्य भएका छन् । रैथाने जङ्गली हात्तीको बथानले वन, जङ्गल आसपासका खेतीयोग्य जमिनमा कृषकले लगाएको अन्नबालीसँगै जनधनको क्षति पुर्याउँदै आएपछि उनीहरू अन्य खेती तर्फ लागेका हुन् ।
दशकौँ अघिदेखि जङ्गली हात्तीको समस्या झेल्दै आएका भारतीय सीमावर्ती खुला नाकासँग जोडिएको साबिक बाहुण्डागी गाविस हाल मेचीनगर नगरपालिका वडा नम्बर १, २, ३ र ४ का कृषकहरूको मुख्य आम्दानीको स्रोत नै धान, मकै, गहुँ, कोदो लगायतको अन्नबाली थियो ।
हात्तीले खेतमा लगाएको धान, मकै, कोदो लगायतका अन्नबाली खाएर र कुल्चेर सखाप पारिदिने क्रम नरोकिएपछि यहाँका किसानहरू व्यक्तिगत तथा सामूहिक रूपमा चिया, सुपारी, मरीच लगायतका वाली लगाउन थालेका छन् । हात्तीका कारण पाकेको अन्नबाली समेत घर भित्राउन यहाँका कृषकहरू समस्या झेलिरहेको स्थानीय कृषक हरि भट्टराईले बताउनुभयो ।
गाउँमै सहकारी चिया प्रशोधन कारखाना स्थापना भएपछि यहाँका चिया कृषकहरू हरियो पत्ति बिक्री गर्दा राम्रै आम्दानी पाइरहेको उहाँको भनाइ छ । हात्तीले अन्नबाली खाने समस्या पनि छैन स्थानीय कृषक सविता पौडेलले बताउनुभयो । चिया खेतीले पनि राम्रै आम्दानी दिइरहेको उहाँको भनाइ छ ।
हात्तीले अन्नबाली नष्ट गर्ने थालेपछि वि।स।२०५७ सालदेखि सहकारी र बैंकमार्फत कर्जा लिएर यहाँका कृषकहरूले चिया खेती लगाउन थालेका छन् । सरकारले हरियो चित्ता पत्तिको उचित मूल्य कायम नगर्दा कृषकहरूको लगानी डुब्ने भएपछि बाध्य भएर चिया उद्योगीलाई हरियो पत्ति सस्तो मूल्यमा बेच्नु परेको शुभ चिया किसान सहकारी संस्थाका अध्यक्ष शम्सेरबहादुर खड्काले बताउनुभयो ।
सहकारी संस्थामार्फत ७८ जना कृषकले १० कट्ठा देखि ५ विगहासम्म जमिनमा चिया बगान लगाएर अहिले हरियो चिया पत्ती बिक्री गरिरहेको उहाँले बताउनुभयो । धेरै मेहनत गरेर उत्पादन गरेको वस्तुले बजार र उचित मूल्य नपाउँदा यहाँका किसानहरू निराश बनिरहेको अवस्थामा अहिले सहकारीले हरियो पत्ती खरिद गर्न थालेपछि यहाँका चिया कृषकलाई सहज भएको उहाँको भनाई छ ।
हात्तीको आक्रमणबाट झापामा ५० जनाको ज्यान गइसकेको छ । वि।सं।२०६२ साल यता १३ वटा हात्ती विविध कारणले मरिसकेका छन् । हात्तीका कारण सयौँको घर गोठमा क्षति पुर्याएको छ भने करोडौँ रुपैयाँको नोक्सानी गरिसकेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया