काभ्रेका पाँच वटा विद्यालयमा राष्ट्रिय सेवा दल गठन


मोतीराम तिमल्सिना, काभ्रे ।

विद्यालय जीवन देखि नै बालबालिकाहरूलाई राष्ट्रिय एकताको भावना जगाउन, बफादारिता, इमानदारिता, अनुशासन, नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले नेपाली सेनाले काभ्रेपलाञ्चोक जिल्लाका पाँच वटा विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेको छ ।

बनेपाको नाईटिङ्गेल एकेडेमी, पनौतीको एसओएस बालग्राम र अरुणोदय मावि, पाँचखालको गोल्डेन फ्युचर मावि र नमोबुद्धको भकुण्डेमा रहेको जनक माविमा सेनाको राष्ट्रिय सेवा दल गठन गरिएको छ । गोल्डेन, जनक र एसओएस बालग्राममा सिनियर डिभिजन तथा नाईटिङ्गेल र अरुणोदयमा जुनियर डिभिजन गठन भएको छ ।

जुनियर डिभिजनमा कक्षा ८, ९ र १० कक्षाका विद्यार्थी सहभागी हुन्छन् भने सिनियर डिभिजनमा कक्षा ११ र १२ का विद्यार्थी सहभागी छन् । एउटा विद्यालयमा १८ छात्रा र १८ छात्र गरी ३६ जना विद्यार्थीहरू सेवा दलमा सहभागी भएका छन् ।

विद्यार्थी र अभिभावकहरूको रुचि, उचाइ तथा तौल, शारीरिक स्वस्थता लगायतका मापदण्डका आधारमा विद्यार्थीहरू छनौट गरिएको छ । राष्ट्रिय सेवा दल गठन गर्नु अघि नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले अभिभावक, विद्यार्थी र शिक्षकहरूलाई राष्ट्रिय सेवा दलको उद्देश्यका बारेमा अभिमुखीकरण गर्नु भएको थियो ।

विद्यार्थीहरूलाई अध्ययनमा कुनै असर नपार्ने गरी सेवा दलमा सहभागी भएकाहरूलाई बिहान बेलुकाको अतिरिक्त समयमा नेपाली सेनाको टोलीले तालिम प्रदान गर्नेछ । तीन महिने तालिममा सहभागीहरूलाई सेनाले पोसाक लगायतका आवश्यक सामाग्री निःशुल्क उपलब्ध गराउनेछ ।

विद्यालय तहमा लिइने तालिम समापन पछि सेनाले विभिन्न स्थानमा रहेका युनिटहरूमा ‘क्लोज क्याम्प’ मा दुई साता भन्दा लामो समय विद्यार्थीहरूलाई सहभागी गराउनेछ । सोहि तालिममा उत्कृष्ट भएकाहरूलाई सेनाले विभिन्न देशमा अध्ययन अवलोकनका लागि पठाउने छ ।

विशेष गरी स्थानीय स्तरमा हुने विभिन्न खालका विपद् भएको अवस्थामा त्यसको व्यवस्थापनका लागि राष्ट्रिय सेवा दलमा आबद्ध भई तालिम प्राप्त विद्यार्थीहरू सक्रिय हुन सकुन् भन्ने उद्देश्यले विद्यालय तह देखि नै विद्यार्थीहरूले सक्रिय बनाइएको हो ।

नेपालमा विपद् धेरै भएकाले विपद् व्यवस्थापन गर्न स्थानीय तहमै जनशक्ति तयार गर्ने उद्देश्यले उक्त सेवा दललाई ऐनमा भएको व्यवस्था अनुसार कार्यान्वयन सुरु गरिएको हो । तालिम पश्चात् विद्यार्थीहरूलाई एल्मुनाई एसोसिएसन मार्फत सक्रिय गराई सामाजिक काममा समेत उत्प्रेरणा जगाउने अभिप्रायले राष्ट्रिय सेवा दल गठन गरिएको हो ।

यस अघि जिल्लाका विभिन्न विद्यालयमा गठन भएको राष्ट्रिय सेवा दलमा सहभागी विद्यार्थीहरू सामाजिक कार्य तथा विपद् व्यवस्थापनमा सक्रिय भएका छन् । आइतबार बनेपाको नाईटिङ्गेल एकेडेमी र पनौतीको अरुणोदय माविमा नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले राष्ट्रिय सेवा दलको उद्घाटन गर्नु भएको छ भने अन्य विद्यालयहरुमा गठन भएको सेवा दलको उद्घाटन गणबाट खटिएका प्रतिनिधिहरूले उद्घाटन गर्नु भएको छ ।

अरुणोदय मावि पनौतीका प्रिन्सिपल विष्णु दाहालले राष्ट्रिय सेवा दल गठनले विद्यार्थीहरूलाई नेतृत्व र अनुशासन कायम हुने बताउनु भयो । विद्यार्थीहरूलाई शारीरिक रुपमा स्वस्थ बनाउन, प्रतिरक्षा तथा सहयोग पुग्ने बताउँदै प्रिन्सिपल दाहालले स्वयंसेवक तयार गर्न महत्त्वपूर्ण हुने जानकारी दिनु भयो ।

एसओएस बालग्रामका प्राचार्य नरेश्वर आचार्यले राष्ट्रिय सेवा दलमा सहभागी विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा जिम्मेवार बनाउने, इतिहास, राष्ट्रियताको रक्षार्थ सहयोग पुग्ने बताउनु भयो । समूहमा नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्ने, अनुभव र सिप आदान प्रदान गर्ने, उत्कृष्ट विद्यार्थीहरूलाई अवसर प्रदान हुने, समाज र राष्ट्र प्रतिको बफादारिता प्रदान गर्ने भएकाले विद्यार्थीहरूलाई राष्ट्रिय सेवा दल गठनमा सहभागिता जनाएको प्राचार्य नरेश्वर आचार्यले बताउनु भयो । एसओएस बालग्राममा यो पटक समेत गरी राष्ट्रिय सेवा दलको चौथो समूह गठन भएको छ । पटक पटक बालग्रामका विद्यार्थीहरू तालिममा उत्कृष्ट भएका छन् ।