सूचना प्रविधि लेखाजोखामा वालिङ दोस्रो


अमृत अर्याल, स्याङ्जा ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामा स्याङ्जाको वालिङ नगरपालिका दोस्रो भएको छ । मन्त्रालयको सूचना तथा प्रविधि शाखाले सात वटै प्रदेशबाट कूल ४ सय ३४ पालिकाहरुको लेखाजोखा गर्दा वालिङ नगरपालिका दोस्रो भएको मन्त्रालयको वेवसाईटमार्फत सार्वजनिक गरिएको हो ।

स्थानीय तहहरुमा उपलब्ध रहेको जनशक्ति मध्ये सूचना प्रविधिसम्बन्धी ज्ञान भएका जनशक्तिहरुको स्थिति, सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधारहरुको उपलब्धता, सूचना प्रविधिमा स्थानीय तहहरुको संस्थागत क्षमताको स्थिति, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, वेवसाईट ब्यवस्थापन, डिजिटल साक्षरता, सूचना प्रविधि सम्बन्धी नीतिगत ब्यवस्थाको मूल्याङ्कन गरी आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव प्रस्तुत गर्ने मुख्य उद्देश्य रहेको छ ।

यस मूल्याङ्कनले स्थानीय तहहरुलाई सूचना प्रविधि प्रयोगको हालको अवस्थाका बारेमा जानकारी प्रदान गर्दै सूचना प्रविधिको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धिका लागि मार्गदर्शन मिल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना तथा प्रविधि शाखाको वेवसाईटमा उल्लेख छ । सूचना प्रविधिमा स्थानीय तहहरुको क्षमता अभिवृद्धिका लागि काम गर्न चाहने संघीय तथा प्रादेशिक निकायहरु, अन्य सरकारी तथा गैर सरकारी निकायहरुलाई समेत सहयोगी हुने जनाईएको छ ।

यस अध्ययनका लागि सात वटा क्षेत्रहरुका विभिन्न ५० वटा सूचकहरु तयार गरी सोको अंकभार गणनाका लागि स्थानीय तहहरुलाई ईमेल तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत प्राप्त भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । सोहीमार्फत स्थानीय तहहरुलाई अंकभार प्रविष्ट गर्न अनुरोध गरिए अनुसार नगरपालिकाबाट भरेर पठाएको विवरणका आधारमा मूल्याङ्कन गरिएको उहाँले बताउनुभयो ।

सूचना तथा तथ्यांकका आधारमा संवैधानिक तथा कानूनी रुपमा स्थानीय तहहरुलाई प्राप्त अधिकारहरुको कार्यान्वयन मार्फत सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गर्न महत्वपूर्ण हुने उहाँले बताउनुभयो । हाल उपलब्ध भएको स्रोत साधन, जनशक्ति, संरचनाको अवस्था र त्यहाँ आवश्यक पर्ने अन्य दक्षताहरुको बीचको अन्तर पत्ता लगाउन सहयोगी हुने भट्टराईको भनाई छ ।

नगरपालिकाबाट दैनिक भएका सूचना प्रविधिको लेखाजोखा मापदण्ड र अभ्यासहरुलाई हामीले मन्त्रालयमा पठायौं उहाँले भन्नुभयो, “हामीले सूचना तथा प्रविधिको प्रयोगलाई नागरिकसँग जोडेर प्रवाह गर्दै आएको दैनिक सेवाहरुलाई तेस्रो पक्षले गरेको मूल्याङ्कनमा देशभरीमै दोस्रो हुन सफल भयौं यसले थप उर्जा र हौसला दिएको छ ।”

विभिन्न सात वटा क्षेत्रहरुमा दिएको सूचाङ्कका आधारमा स्थानीय तहहरुले प्रविष्ट गरेको अंकभार बमोजिम स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको लेखाजोखा गर्दा वालिङ नगरपालिका कूल ७८ अंकसहित दोस्रो हुन सफल भएको हो ।

कूल ८० अंकसहित रुकुमपश्चिमको चौरजहारी नगरपालिका पहिलो भएको हो भने काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि ७८ अंकसहित दोस्रो भएको छ । मन्त्रालयको वेवसाईटमा सूचना प्रविधिको क्षमता सम्बन्धी लेखाजोखा मूल्याङ्कनका लागि विवरण पठाएका पालिकाहरुको अंकभार सार्वजनिक गरेको छ ।