संगीतमा तिमीलाई नै सार्वजनिक


गीतकार घनबहादुर थापाको शब्द रचना तथा गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल स्वर रहेको नयाँ गीत तिमीलाई नै सार्वजनिक भएको छ।
दीपकराज विश्वकर्माको संगीत तथा निर्देशन र केशवराज भट्टको कोरियोग्राफी रहेको म्युजिक भिडियो इनाक्षी इन्टरटेनमेन्ट अस्ट्रेलियाले युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरेको हो।

जीवनमा कहिल्यै भेट नभएका अपरिचित युवायुवतीबीच अनेक कष्ट सहेर, सूक्ष्म तरिकाले मूल्यांकन गरी रोजेर सम्बन्ध स्थापित भइसकेको जोडीको माया प्रेम र सम्बन्ध दीगो बनाउने कामना गीतमा गरिएको छ। नवस्थापित सम्बन्धले एक–अर्कालाई दुःख कष्ट होइन, खुसी दिने प्रतिबद्धता गीतमा व्यक्त गरिएको छ।

आपसी सहमतिमा स्थापित वैवाहिक जीवन वा प्रेम सम्बन्धलाई जस्तोसुकै चुनौती आए पनि टुट्न नदिने प्रण गीतमा गरिएको छ। धर्ती फाटे पनि माया नफाटोस् भन्ने कामना गीतमा गरिएको छ। गायक गायिका स्वयंले अभिनय गरेको गीतको म्युजिक भिडियोको अमन बडुले छायांकन गरेका छन् भने डिन्सन शाहले सम्पादन गरेका छन्। गीतको म्युजिक भिडियोले हालसम्म सवा लाख नजिक भ्युवर्स पाइसकेको छ।