बोलेका बाचा पुरा गर्दै मन्त्री आले, त्रिभुवन विमानस्थलमा सटल बस सेवा सुरु 



विमल विष्ट, काठमाडौँ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालेदेखि मन्त्री प्रेमबहादुर आलेले नागरिकलाई सहज तथा खुसी पर्ने कार्य गर्दै आउनु भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा नागरिकको सहजताका लागि हवाई सेवा सुचारु, नेपाल वायुसेवा निगमका कर्मचारीको एक सय ८ दिन लामो आन्दोलन स्थगन गर्ने कार्यदेखि विभिन्न सेवामुलक काम गर्दै आउनु भएका मन्त्री आलेले आज पुनः नागरिकलाई सहज हुने अर्को काम गर्नु भएको छ ।

देशको सबै भन्दा पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई ट्याक्सी चालकले दुःख दिएको तथा मनोमानी रूपमा भाडा लिएको जन गुनासो बढेपछि मन्त्री आलेको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले तीन वटा माइक्रो बसलाई सटल बसका रूपमा सञ्चालनमा ल्याएको छ ।

आज बुधबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ती सटक बसहरूको उद्घाटन समेत गर्नु भएको छ । ट्याक्सी व्यवसायीको ठगी नियन्त्रण गर्न तथा यात्रु लुट्ने क्रम रोक्नका लागि आफूले निःशुल्क रूपमा सटल बस सेवा सञ्चालनमा ल्याएको मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ट्याक्सी व्यवसायीले मनपरी भाडा लिएर यात्रु ठगिन थाले, उनीहरूको मनपरी तन्त्र रोक्नका लागि र यात्रुको सहजताका लागि सटल बस सेवा सञ्चालनमा ल्याएको छु ।” मन्त्री आलेले यात्रुका लागि सटल बस सेवा सुचारु गरेपछि अहिले यात्रुहरू खुसी हुनुका साथै मन्त्री आलेलाई धन्यवाद समेत दिन थालेका छन् ।

विमानस्थलका महाप्रबन्धक भोला गुरागाईँका अनुसार आज शुभारम्भ गरिएका सटल बसहरू अब हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने भ एका छन् । तीन वटा सटल बसले आन्तरिक टर्मिनलदेखि विमानस्थलको गोल्ड गेटसम्म यात्रुलाई निःशुल्क सेवा दिने भएका छन् ।

यति मात्र नभई मन्त्री आलेको निर्देशनमा विमानस्थलले वैदेशिक रोजगारका लागि विभिन्न मुलुक जाने श्रमिकहरूका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर पनि सञ्चालनमा ल्याइएको छ । उक्त विश्राम स्थलको पनि मन्त्री आलेले आजै उद्घाटन गर्नु भएको छ । विश्राम स्थल नभएका कारण वैदेशिक रोजगारमा जाने तथा त्यहाँबाट फर्किने नागरिकले यसअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता रहेको थियो ।

विश्राम स्थल शुभारम्भ भएपछि उक्त समस्या पनि समाधान भएको छ । उक्त विश्राम स्थलमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्ज, फ्लाइट डिस्प्ले, वाईफाई र मन्त्रालय÷विमानस्थलको हटलाइन नम्बर राखिएको छ । वैदेशिक रोजगारमा जाने यात्रुहरूलाई कुनै समस्या परे उक्त हटलाइनमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

हाल कुल २५ जना क्षमता भएको उक्त विश्राम स्थल निकट भविष्यमा तीन सय व्यक्ति अटाउने क्षमताको बनाइने योजना रहेको मन्त्री आलेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्