पर्यटनको सम्भावना बोकेको खेल ‘लन टेनिस’


विजय नेपाली, पोखरा । 

लनटेनिस विश्वकै महँगो खेलमध्येको एक खेल हो । अधिकांश देशमा टेनिसको लोकप्रियता निकै छ । तर, नेपालमा भने टेनिसको लोकप्रियता कमै मात्रामा छ । टेनिस खेल गण्डकी प्रदेशका लागि आम्दानीको स्रोतको रूपमा समेत विकास गर्न सकिने सम्भावना बोकेको खेल हो । निश्चय नै धनीहरूले खेलिने खेल भएकाले यसको आयोजना पनि महँगो हुने गरेको छ ।

गण्डकी प्रदेशलाई पर्यटकीय प्रदेश पनि भनिन्छ । विश्वका अधिकांश विकसित मुलुकमा खेलकुद के माध्यमबाट कायापलट भएको देखिन्छ ।
गण्डकी प्रदेशले पनि खेल पर्यटनको प्रचुर सम्भावना बोके पनि त्यसलाई सदुपयोग गर्न भने सकिरहेको छैन् । तर, पछिल्लो समय देश संघीयतामा गइसकेपछि खेलकुद क्षेत्र भने पक्कै पनि चलायमान भइरहेकै छ ।यतिबेला, पोखरामा यु–१८ आईटीएफ विश्व वरीयता टेनिस भ्रमण जे–५ प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा आयोजक नेपालसहित विश्वका ९ राष्ट्रको सहभागिता रहेको छ । अमेरिका, ब्राजिल, रसिया लगायत १९ राष्ट्रका ११९ जना खेलाडीसहित उनका परिवार सदस्यहरूको समेत उपस्थिति रहेको छ ।

प्रतियोगितामा विकसित राष्ट्र मात्रै नभई टेनिसमै विश्वकै अब्बल राष्ट्रहरूको सहभागिता भइरहँदा प्रतियोगिता भने छायाँमा परिरहेको छ । तर, गण्डकी प्रदेश खेलकुद मन्त्रालयले भने टेनिसमा पर्यटनको प्रचुर सम्भावना देखिरहेको छ । गण्डकी प्रदेशलाई खेल पर्यटनको राजधानीको रूपमा विकास गर्न चाहिरहेको खेलकुद मन्त्रालयले यहाँका साहसिक खेलबाहेक टेनिसलाई पनि पर्यटनको सम्भावना देखिरहेको छ । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पर्यटनमा ठूलो भूमिका खेल्ने खेल टेनिस रहेको बताए । उनले टेनिसले पोखरा मात्र नभई प्रदेशकै पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सहयोग गर्ने बताए । ‘पोखरामा यति राम्रो यति ठूलो प्रतियोगिता भइरहेको रहेछ । तर, हामीलाई पत्तै छैन ।

यो प्रतियोगिता मात्रै होइन यो त यहाँको पर्यटन व्यवसायीको अर्थतन्त्र वृद्धि गर्ने खेल हो ।’ उनले भने,‘ यो खेल धनीहरूले खेल्ने खेल हो । त्यसैले यो खेलमा आउने साना खेलाडीहरू भए पनि पर्यटनमा ठूलो प्रभाव पार्नेहरू हुन् । उनीहरूका परिवार यहाँ आएका छन् । यसलाई प्रचार गर्न सकियो भने हाम्रो पर्यटन क्षेत्रको ठूलो प्रचार हुन्छ ।’प्रतियोगितामा सहभागी खेलाडीसहित उनीहरूका परिवार गरी करिब ३ सयभन्दा बढी विदेशी हाल पोखरामा रहेका छन् । खेलकुदमन्त्री गुरुङका अनुसार पोखरामा अझ स्तरीय मैदान बनाउन सके विश्वको सिनियर खेलाडीको प्रतियोगितासमेत आयोजना गर्न सकिने बताए । ‘टेनिसको यो कोर्ट विश्वमै राम्रो मध्यमै पर्ने रहेछ । मैले खेल हेरेँ त्यहाँ साना खेलाडीले समेत निकै राम्रो खेल खेलेका थिए ।

आखिर भविष्यमा त यिनीहरू नै विश्वका टफ खेलाडी हुने हुन् । हामीले यहाँ टेनिस कोर्ट निमार्णका लागि थोरै भए पनि सरकारको तर्फबाट सहयोग गर्नेछौँ ।’ टेनिसमा गण्डकी प्रदेशमा समेत उत्कृष्ट खेलाडी रहेको बताउँदै आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिस खेललाई पनि प्रमुख प्राथमिकतामा राखेर आवश्यक व्यवस्थापन गर्ने बताए । ‘यो खेल हाम्रो प्रदेशले पनि सम्भावना बोकेको खेल हो । त्यसैले, नवौँका लागि हामीले प्राथमिकतामा राखेर प्रशिक्षण गराउने छौँ ।’

प्रदेश खेलकुद सदस्य सचिव तेज गुरुङका अनुसार विश्वभर देखि नै विदेशी खेलाडी आउँदासमेत कास्की जिल्ला टेनिससंघले प्रचार प्रसारमा त्यति ध्यान दिन नसकेको बताए । उनले यस्ता प्रचुर सम्भावना बोकेका खेल आमनागरिकले समेत खेल्न र लोकप्रिय बनाउन लागिपर्नुपर्ने बताए । ‘सम्बन्धित खेलसंघले टेनिसलाई अब आमरूपमा लैजान सक्नुपर्दछ । यसको जति महत्व र लोकप्रिय बन्दै गयो त्यति नै फाइदा हुने हो’ उनले भने– ‘अब टेनिस संघले केही नभए पनि हप्ताको एकदिन निःशुल्क टेनिस प्रशिक्षण राखेर यस खेलको बारेमा सबैलाई जानकारी दिन प-यो ।’पोखरा रंगशालामा चलिरहेको प्रतियोगिता डिसेम्बर ११ सम्म चल्ने छ । प्रतियोगिताले टेनिस खेलको साथै पोखराको पर्यटन प्रवद्र्धनमा समेत कोसेढुंगा सावित हुने र्आटीएफ प्रतियोगिता डाइरेक्टर चिफ अजय विष्टले बताए ।