भारत, श्रीलंका, माल्दिभ्सका नौसेनाद्वारा त्रिपक्षीय अभ्यास सञ्चालन


इन्डिया न्युज नेटवर्क । 

भारत–श्रीलंका–माल्दिभ्सका नौसेनाबीच त्रिपक्षीय केन्द्रित सञ्चालन शनिबार र आइतबार भएको छ । सामुद्रिक सुरक्षा क्षेत्रमा सहकार्य गर्नु यस अभ्यासको मुख्य उद्देश्य रहेको छ ।

श्रीलंकास्थित भारतीय उच्चायोगको विज्ञप्तिअनुसार कोलम्बो रक्षा सम्मेलन (सीएससी) को नेतृत्वमा भएकोे यस अभ्यासलाई गत वर्ष नोभेम्बर महिनामा चौथो राष्ट्रिय सुरक्षा सल्लाहकारको त्रिपक्षीय बैठकमा संस्थागत गरिएको थियो र यस वर्ष मार्च महिनामा कोलम्बोमा सचिवालय स्थापना गरिएको थियो ।यस अभ्यासले मानक सञ्चालन प्रक्रियाहरू (एसओपी) लाई सुव्यवस्थित बनाउन र तीन नौसेनाबीच अन्तरसञ्चालन क्षमता वृद्धि गर्न मद्दत पुग्नेछ ।

विज्ञप्तिअनुसार भारतीय नौसेना तर्फबाट आईएनएस सुभद्रा अपतटीय गस्ती जहाज र पी८आई लामो दूरीका सामुद्रिक गस्ती विमान यस अभ्यासमा भाग लिएका छन् । श्रीलंकाका तर्फबाट एसएलएनएस समुदुरा र माल्दिभ्सका तर्फबाट एमएनडीएफ सामुद्रिक शोध विमान डोर्नियर सहभागी भएका छन् ।

दुई दिन हुने यस कार्यक्रममा सम्बन्धित ईईजेडमा लागुऔषध नियन्त्रण, समुद्रमा खोज र उद्धार, हवाई निगरानी र प्रभावकारी सञ्चार स्थापना अभ्यास समावेश गरिएका छन् । यस वर्षको अगस्ट महिनामा बसेको सीएससी एनएसए बैठकले यस क्षेत्रमा साझा सुरक्षा चुनौतीको सामना गर्ने दिशामा बृहत् अन्तर सञ्चालन र समझदारी हासिल गर्न कार्ययोग्य संलग्नताहरू विकसित गरेको थियो ।

गत हप्ता, भारत, श्रीलंका र माल्दिभ्सले मित्रतालाई अझ सुमधुर बनाउन, आपसी परिचालन क्षमता अभिवृद्धि गर्न, अन्तरक्रियात्मक अभ्यास वृद्धि गर्न र तीन देशका तटरक्षकहरूबीच सहयोग निर्माण गर्ने उद्देश्यले पाँच दिने संयुक्त द्विवार्षिक सैन्य अभ्यास ‘दोस्ती’ सञ्चालन गरेका थिए । यो वर्ष भारत, श्रीलंका र माल्दिभ्सको संयुक्त सैन्य अभ्यास शुरू भएको ३० वर्ष पूरा भएको छ ।