रूसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत भ्रमणमा आउने


इन्डिया न्युज नेटवर्क  । 

भरतको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर महिनाको ६ तारिखमा भारत भ्रमणमा आउने भएका छन् । उनी प्रधानमन्त्री मोदीसँग २१ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

पछिल्लो भारत रूस वार्षिक शिखर सम्मेलन सन् २०१९ को सेप्टेम्बर महिनामा भएको थियो । त्यस समय प्रधानमन्त्री नरेन्द्र मोदी भ्लादिभोस्तोकको (रूस) भ्रमणमा रहेका थिए । कोभिड–१९ महामारीका कारण सन् २०२० मा हुनुपर्ने वार्षिक शिखर सम्मेलन हुन सकेको थिएन ।सन् २०१९ को नोभेम्बर महिनामा आयोजित ब्रिक्स शिखर सम्मेलनको पृष्ठभूमिमा दुई नेताबीच भेट भएको थियो । त्यसपछि पहिलोपटक यी दुईबीच व्यक्तिगत भेट हुँदैछ । सन् २०१९ नोभेम्बर महिनादेखि दुई नेताबीच ६ वटा टेलिफोन वार्ता भइसकेको छ भने बहुपक्षीय शिखर सम्मेलनका लागि वस्तुतः ढाँचामा भेटवार्ता पनि भएको छ ।

नेताहरूले द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्नेछन् र दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायबारे छलफल गर्नेछन् । यस शिखर सम्मेलनले आपसी हितका क्षेत्रीय, बहुपक्षीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर पनि प्रदान गर्नेछ ।भारत र रूस बीच आलोपालो प्रक्रियाअनुसार वार्षिक शिखर सम्मेलन हुने गर्दछ । यसै क्रममा यसपटकको शिखर सम्मेलन नयाँ दिल्लीमा आयोजित हुँदैछ । रूसी राष्ट्रपतिको यस भ्रमणले भारत–रूस विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई थप गति दिनेछ ।