बाटो बनेपछि फेरियो मुसहर वस्तीको मुहार

विकाससँगै रोजगारी


मधुसूदन रायमाझी, सिरहा । 

जब वर्षा शुरू हुन्थ्यो तब सिरहा जिल्ला गोलबजार नगरपालिका–३ निपानेका मुसहर बस्तीमा पानीको निकास नहुँदा विवाद चर्किन्थ्यो । विवाद टोलमा मात्र सीमित नरही प्रहरी कार्यालयसम्म पुग्थ्यो । घर अगाडिको हिलाम्मे बाटामा टोलका बालबालिका चिप्लिएर लड्ने दृश्य सामान्य मानिथ्यो ।

राजमार्गबाट नजिकै रहे पनि मुसहर वस्तीका बासिन्दाले कहिल्यै आफ्नो घर अगाडिको हिलाम्मे बाटो बनाउन नगरपालिकासमक्ष माग राखेनन्, बरु वर्षौं घरछिमेकमा झगडा गरेर बसे, हिलाम्मे सडकमा लड्न राजी भए । घर अगाडिको बाटो पक्की बनाउने आर्थिक स्रोत नभएका मुसहर समुदायले बाटो बनाउने माग लिएर सरोकारवाला निकायसमक्ष जाने आँटै गरेनन् । विशेष गरी बालबालिकालाई वर्षाको समयमा हिलाम्मे बनाएर विद्यालय पठाउँदा यहाँका बासिन्दाको मन अमिलो हुन्थ्यो ।वर्षाको समयमा पानीको निकास नहुँदा घरभित्र पानी पस्ने त्रासले यहाँका बासिन्दा राम्रोसँग निदाउन समेत नपाउने अवस्था थियो । तर, अहिले भने यस बस्तीको अवस्था फेरिएको छ । हिलाम्मे सडक ढलान भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, नेपाल शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनामार्फत गोलबजार नगरपालिकाले सञ्चालन गरेको श्रममूलक कार्यक्रमले यहाँको सडक ढलान भएको हो । झन्डै ५० घरपरिवार रहेको यस मुसहर बस्तीको बीचमा १ सय ९५ मिटर आरसीसी ढलान भएको बाटो बनेपछि यहाँको जीवनशैली नै परिवर्तन भएको छ । अहिले पानी पर्दा कुनै समस्या छैन, न त हिलाम्यै सडकमा नै हिँड्नुपर्छ ।

बस्तीको बीचमा १२ फिट चौडाइ भएको बाटो निर्माण गरिएका कारण आफूहरू निकै खुसी भएको गोलबजार नगरपालिका–३ का वडा सदस्य बेचन साह बताउनुहुन्छ । स्थानीय कार्यदेवी सदाले घरअगाडिको हिलाम्मे बाटो ढलान बनेपछि खुसीको सीमा नै नरहेको बताउँदै भन्नुभयो– ‘जब वर्षा लाग्थ्यो, तब हाम्रो छिमेकमा झगडा हुन्थ्यो, अहिले बाटो बन्यो हाम्र्रो छिमेकमा विवाद होइन, मेलमिलाप छ ।’ वर्षाको समयमा छोराछोरीलाई विद्यालय पठाउन समेत निकै कठिन भएको बताउँदै उहाँले बाटो निर्माण गर्दा आफूले ४० दिनको रोजगारीसमेत पाएको बताउनुभयो ।

कोरानाको महामारीका बेला घरबाट अन्यत्र काम गर्न जान नसकिएका कारण हातमुख जोर्ने चिन्ता थपिएको बेला आयोजनामार्फत नगरपालिकाले कोरोना संक्रमणबाट अति प्रभावित नागरिकलाई लक्षित गरेर शुरु गरेको कार्यक्रमले मुसहर बस्तीका नागरिकलाई ढुंगा खोज्दा देउता मिलेझै भयो ।स्थानीय शान्ति सदा भन्नुहुन्छ– ‘कहाँ काम गर्न जाने, छोराछोरीलाई के खुवाउने भन्ने चिन्तामा थियौं, त्यही बेला नगरपालिकाले घर अगाडिको सडक बनाउने र त्यही सडकमा काम गरेबापत पैसा पनि दियो, हामीलाई त दुवै हातमा लड्डु भैगो नि ।’ दुःखको बेला आफूले रोजगारी पाउँदा घरमा छाक टार्न निकै सहज भएको अनुभव सुनाउँदै उहाँले घर अगाडिको सडक ढलान हुँदा झन् खुसी थपिएको बताउनुभयो ।

नगरपालिकाअन्तर्गत गत वर्ष नगरपालिकाभित्र २० वटा योजना सञ्चालन गरिएको थियो । जसमध्ये मुसहर बस्तीको बाटो बनाउने योजना पनि छनोट भएको थियो । यो योजनाका लागि २० लाख रुपियाँ प्राप्त भएको थियो । गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साह सानो काम गरेर पनि मुसहर बस्तीका बासिन्दाका लागि ठूलो खुसी ल्याउन सकिएको बताउनुहुन्छ । नगरपालिकाको सीमित स्रोत साधनबाट धेरै काम गर्न कठिन भइरहेको बेला नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बजेट प्राप्त भएपछि मुसहर वस्तीलगायतका ठाउँमा योजना छनोट गरेर प्रभावकारी रूपमा काम गर्न सकिएको बताउनुभयो ।

नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत क्लस्टर १ का अनुगमन तथा मूल्याङ्कन इन्जिनियर महेश अधिकारीले आयोजनाबाट सञ्चालित कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै भन्नुभयो– ‘नगरपालिकाबाट कार्यान्वयन हुने कार्यक्रमलाई प्रभावकारी बनाउन शुरुकै चरणदेखि आवश्यक परामर्श र पारदर्शिताको विषयमा आयोजना सञ्चालन हुने क्षेत्रका बासिन्दालाई जानकारी गराउँदै आएका छौं ।’आयोजनामार्फत हाल १२ वटा स्थानीय तहमा श्रममूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

आयोजनाले विकास र कोरोनाबाट प्रभावित नागरिकलाई स्वरोजगार बनाउने नीति लिएको छ । नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैंकबीच भएको सहमतिअनुसार १२ जिल्लाका विभिन्न स्थानीय तहमा स्थानीय तहसँगको समन्वयमा आयोजनाले श्रममूलक कार्यक्रम अगाडि बढाएको हो ।नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका आयोजना निर्देशक परीक्षित कडरियाले स्थानीयस्तरमै रोजगारी सिर्जना गरी नागरिकको आर्यआर्जन वृद्धि गर्ने लक्ष्यको साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले कोरोना महामारीका कारण रोजगारी गुमाइरहेका बेला यस कार्यक्रममार्फत नागरिकलाई स्वरोजगार बनाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।