ट्वीटरका सिइओ डोर्सी राजीनामा दिँदै



लन्डन, (एजेन्सी)

ट्वीटरका सह संस्थापक ज्याक डोर्सीले कम्पनीको प्रमुख कार्यकारिणी ( सिइओ ) पदबाट राजीनामा दिँदै छन् । हाल प्रमुख प्राविधिक अधिकारीको रूपमा रहेका पराग अग्रवालले उनको स्थानमा पदभार सम्हाल्ने ट्विटरले जनाएको छ ।

सन् २००६ मा ट्वीटरको स्थापना कार्यमा लागेका मध्ये एक डोर्सीले ट्विटर र पैसा भुक्तानी गर्ने फर्म स्क्वायर दुवैमा सिइओ को भूमिकामा सेवा गर्दै आएका थिए । डोर्सीले एक विज्ञप्ति मार्फत भनेका छन् , ‘ अन्ततः मैले पद छाड्ने समय आएको छ ।

कम्पनी मज्जाले चलिरहन तयार छ । मेरो स्थानमा आउने सिइओ प्रति मेरो पूर्ण विश्वास छ । म उनको सिप , भावना र समर्पण प्रति कृतज्ञ छु । अब उनले नेतृत्व गर्ने बेला हो । ’ सन् २०११ मा टिवटरमा प्रवेश गरेका अग्रवालले सन् २०१७ देखि प्रविधि प्रमुखको जिम्मेवारी निभाउँदै आएका छन् ।

गत वर्ष डोर्सी माथि पद छाड्न केही लगानीकर्ताको दबाब परेको थियो । उनको बहिर्गमनको हल्लासँगै सेयर बजारमा ट्वीटरको मूल्य केही बढेको छ ।

प्रतिक्रिया दिनुहोस्