अपडेट : म्याग्दी जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो, घाइते ३ जनालाई पोखरा लगियाे


न्युज अफ नेपाल, म्याग्दी ।

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाको औल भन्ने ठाउँमा आज (सोमबार) बोलेरो जीप दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । सदरमुकाम बेनीबाट बेगखोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जीप दुर्घटनामा परेर मृत्यु हुने र घाइते हुनेहरु चालकसहित सबै आठजना रघुगंगा गाउँपालिका–१, बेगखोलाका रहेका छन् । उनीहरुमध्ये बेगखोलाका ३० वर्षीया गौमाया विक, ४० वर्षीय जीप चालक दुतबहादुर थापा, २५ वर्षीय खिम पुन र ५८ वर्षीय खिमनाथ शर्मा रहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा बेगखोलाका २० वर्षीय भीम फगामी, ४५ वर्षीय बेलबहादुर विक, २३ वर्षीय मनोज पुन र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा रहेको प्रहरी नायव उपरीक्षक राईले बताउनुभयो । घाइतेहरुको टाउको, निधार, मेरुदण्ड, खुट्टा, कान र शरिरको विभिन्न भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

घाइते भएकाहरुको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि तीन जनालाई पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । तीमध्ये ज्ञानबहादुर शेरपुञ्जाको बेनी अस्पतालमै उपचार भैरहेको छ ।

उकालो बाटोमा बेगखोला गाउँतर्फ जाँदै गरेको जीप अन्दाजी सडकबाट ३ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो । जीपका चालकको समेत ज्यान गएको हुँदा दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।