जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन मन्त्री आलेको निर्देशन

0
Shares

विमल विष्ट, डोटी ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्हरणको काम तत्काल अघि बढाउन निर्देशन दिनु भएको छ । आज सोमबार धनगढी विमानस्थल निरीक्षणका अनुगमन लागि पुग्नु भएका मन्त्री आलेले यहाँका कर्मचारीहरुसँगको भेटमा विमानस्थलका लागि चाहिने आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया सहितको फाइल तत्काल मन्त्रालयमा पेस गर्न निर्देशन दिनु भएको हो ।

निरीक्षणकै क्रममा मन्त्री आलेले बिमनस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य नयाँ निर्माण गर्नु पर्ने संरचनाका विषयमा पनि लेखेर पठाउन निर्देशन दिनु भएको विमानस्थल प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री ज्युबाट विमानस्थलको धावनमार्गदेखि अन्य संरचना निर्माणका लागि चाहिने जग्गा अधिग्रहणको काम अघि बढाउन निर्देशन भएको छ, नागरिक उड्डयन प्राधिकरणले सो विषयका सबै फायल तयार गरी केही दिनमा मन्त्रालयमा पेस गर्ने छ ।”

धनगढी विमानस्थल बिस्तारका लागि कुल ३११ बिगाह चाहिने भएको छ भने त्यसका लागि २२८ बिगाह अधिग्रहण गर्नु पर्ने भएको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीले जनाएको छ । अहिले विमानस्थलसँग कुल ८३ बिगाह रहेको छ । उक्त विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम गरिन थालेको हो ।

सोही क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुहरूलाई राख्ने ठाउँ साँघुरो भएकाले ती ठाउँहरूलाई फराकिलो बनाउनु पर्ने समेत निर्देशन दिनु भएको थियो । अहिले यहाँका पहाडी जिल्लाहरूमा पनि हवाई उडान सुरु भएकाले यात्रुहरूको चाप बढेपछि विमानस्थलमा यात्रु बस्ने ठाउँ अभाव हुँदै आएको गुनासो आएपछि मन्त्री आलेले ठाउँ फराकिलो बनाउन निर्देशन दिनु भएको उहाँका प्रशासन सहायक भक्तबहादुर आले मगरले जानकारी दिनुभयो ।