एमालेमा लुम्बिनीबाट पूर्वमाओवादी समेटिए, पूर्वमाधव पक्ष बाहिरिए 


 यमलाल भुसाल, बुटवल ।

नेकपा एमालेको  १० औ महाधिवेशनबाट लुम्बिनी प्रदेशका  पूर्व माधव नेपाल पक्षका सबै नेता पाखा लगाइएको छ भने पूर्वमाओवादीलाई भने समेटिएको छ । लुम्बिनी प्रदेशका शंकर पोखरेल महासचिवमा सर्वसम्मत हुँदै गर्दा  श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई समेत केन्द्रीय कमिटीमा पार्नु भयो । तर अनेरास्ववियूमा पोखरेलकै समूहमा बसेर काम गर्नु भएका कपिलवस्तुका विष्णु पन्थीको नाम  पदाधिकारी र केन्द्रीय सदस्यमा परेन । पन्थीलाई लेखा आयोगको उपाध्यक्षमा थन्काइएको छ ।

लुम्बिनी प्रदेशको संसद् विघटनपछि पन्थी माधव नेपालको पक्षमा देखिनु भएको थियो । तर, पार्टी विभाजनका बेला १० बुँदे कार्यान्वयन भएको भन्दै एमालेमै बस्नु भएको छ । १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएका पन्थी ३ सय १ सदस्यीय केन्द्रीय कमिटीमा पर्नु भएन ।

त्यस्तै नेकपा एमाले रुपन्देहीका पूर्व अध्यक्ष, लुम्बिनीका प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ, गुल्मीका पुराना नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य कमल श्रेष्ठ पनि केन्द्रीय कमिटीमा अटाउनु भएन । बरु २०७४ सालमा एमाले प्रवेश गरेकी दाङकी कोमल वली केन्द्रीय कमिटीमा समेटिएकी छन् । कमल श्रेष्ठ पनि कुनै बेला माधव नेपाल पक्षमा थिए । लुम्बिनीबाट ५० भन्दा बढी आकाङ्क्षी थिए । तर, यसमध्ये करिब दुई दर्जन समेटिएका छैनन् ।

महासचिवमा सर्वसम्मत भएका पोखरेल लुम्बिनीको मुख्यमन्त्री हुँदा श्रेष्ठ नेपाल पक्ष भएको भन्दै मन्त्री हुनबाट रोकेँ । नेकपामा विवाद चुलिँदै गएर सरकार नै सङ्कटमा परेपछि ९९ सय दिनका लागि मन्त्री बनाएका थिए ।  विवादका बेला पार्टीको केन्द्रीय सदस्य बनाउने वचन उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल र पोखरेलले वचन दिनुभएको थियो । तर, उम्मेदवारी घोषणा गरेका श्रेष्ठको नाम पनि ३ सय १ मा अटेन  ।

बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदी र उपमेयर गुमादेवि आर्चाय नाम पर्दा पूर्व नगरप्रमुख श्रेष्ठ ओलीको सूचीमा पर्नु भएन । ‘योग्यता नपुगेकाले नाम नपरेको श्रेष्ठले भन्नु भयो ।अध्यक्षलाई सम्पूर्ण अधिकार दिएर नामावली सार्वजनिक भएपछि उम्मेदवारी दिनुको अर्थ नभएको नेतृत्वमा नसमेटिएकाहरूको भनाई रहेको छ ।

लुम्बिनी प्रदेशबाट ३६ जना केपी ओलीको सूचीमा पर्दा पूर्व माधव नेपाल पक्षमा लागेकाहरूलाई भने पाखा लगाइएको छ । उपाध्यक्षमा मनोनयन दर्ता गरेका घनश्याम भुसाल पक्ष र पूर्व माधव नेपाल पक्षलाई पाखा लगाएर केन्द्रीय कमिटी बनाइएको एमालेका एक नेताले बताएका छन् । पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई भने ओलीले समेटेका छन् ।

लुम्बिनीबाट प्रतिनिधित्व गर्ने नेतामा टोपबहादुर रायमाझी सचिवमा गिरिधारलाल न्यौपाने, दधिराम शर्मा न्यौपाने, दिनेश पन्थी र चन्द्रबहादुर खड्का केन्द्रीय सदस्यमा पर्नु भएको छ । प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रचण्ड– नेपाल पक्षमा खुलेका तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे पनि नेतृत्वमा पर्नु भएन ।

उहाँले २०७४ को स्थानीय तहको निर्वाचनमा घनश्याम भुसाल पक्ष भएकै कारण नगरप्रमुखमा टिकट पाउनु भएको थियो । तर, संसद् विघटनपछि चर्किएको विवादमा पछि विष्णु पौडेलसँग निकट भएर ओली पक्षमा लाग्नु भएको थियो । विष्णु पौडेलसँग निकट भएकाले केन्द्रीय सदस्य पाउने पक्कापक्कीमा भएको बताउने घिमिरेको नाम पनि परेन ।