एमाले महासचिव पोखरेलका श्रीमती र बहिनी पनि केन्द्रीय सदस्य


न्युज अफ नेपाल, काठमाडौं । 

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सर्वसम्मत महासचिव बनेका शंकर पोखरेलका श्रीमती र बहिनीलाई समेत केन्द्रीय सदस्य पद दिइएको छ । महासचिव पोखरेलका एकै घरका ३ जना केन्द्रीय कमिटीमा अटाउँदा सोलुखुम्बुका एक जनाले पनि केन्द्रीय सदस्य पाएनन् । यस्तै कर्णालीमा पदाधिकारी शून्य छ । भने चितवनका दस जना केन्द्रीय समितिमा अटाए ।

महासचिव पोखरेलका श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललार्ई पनि अध्यक्ष ओलीले नै केन्द्रीय सदस्य बनाएका हुन् ।  मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन् ।

यस्तै, एमाले सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन् । उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन् । यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन् ।