तराईमा मंसिरमै ह्वात्तै बढ्यो चिसो


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा सहित मध्य पूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसो बढेको छ । विगतका वर्षमा पुस लागेपछि मात्र बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको हो  । जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एका बिहानै देखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार बहन थाले पछि पर्सा सहितका मध्य पूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ ।

एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषि कार्य पनि प्रभावित भएको छ । बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । मङ्सिरमै चिसो बढेपछि पुस र माघमा झनै चिसो बढ्ने अड्कले गरिब बस्तीमा चिन्ता बढेको छ ।

चिसो बढ्दै जाँदा वृद्धावस्था, सुत्केरी र स–साना नानीहरू बढी प्रभावित भएका छन् । यसैबीच जिल्लाका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् ।

 घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् ।

यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लास्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह पनि गरिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुवाँले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने स्वास्थ्य  कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले  बताउनुभयो ।