उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री देउवा 


न्युज अफ नेपाल, काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आदिवासी जनजाति ज्यापु समुदायको ठूलो योगदान रहेको बताउनुभयो ।  १८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समितिका पदाधिकारीहरूसँगको छलफलमा उहाँले सो कुरा भन्नुभएको हो ।

निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भूषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । य

ही आउँदो पुस ४ गतेका दिन बसन्तपुरमा भव्यतासाथ मनाउन गइरहेको ज्यापु दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा स्वरुप बाजागाजासहित माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिङ्गो सुपारी राखी कोषका अध्यक्ष मङ्गलकृष्ण सिंले परम्परागतरुपमा निमन्त्रणा दिनुभएको थियो ।

ज्यापु दिवसको निमन्त्रणा दिन आयोजक ज्यापु संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका पदाधिकारीहरू आज प्रधानमन्त्री कार्यालय शितलनिवास पुगेका थिए ।

तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कार्यकालमा नेपाल सरकारबाट आर्थिक वर्ष २०५७/५८ मा ज्यापु समुदायको बाजा संरक्षणको लागि प्राप्त १२ लाख ६० हजार रुपियाँ अक्षयकोषबाट ज्यापु संस्कृति विकास कोषको स्थापना भएको थियो ।

यस क्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आइरहेको यःमरिपुन्हि/ज्यापुदिवसको पर्व बिदा विगत दुई वर्षदेखि सम्बन्धी जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक बिदामा परिणत गर्नको लागि सम्माननीय प्रधानमन्त्रीको समक्ष अुनरोध गर्नुभएको छ ।