जनगणनामा ‘चुनाव’ को रन्को


नेपाल समाचारपत्र, हेटौंडा । 

हेटौंडा उपमहानगरपालिका–८ कमानेमा खटिएकी जेनिशा घिमिरेले जनगणनामा सहभागी गराउन निकै असहज भएको बताउनुभयो । कतिपयले त चुनाव आउन थालेकाले भन्दै बल्ल खोज्दै आउन थाल्यो भन्ने जस्ता आरोप लगाउने गरेको उहाँले बताउनुभयो । ‘हामीले जनगणनाबारे जानकारी दि“दा पनि कतिपयले चुनाव नजिकिँदै गर्दा स्थानीयलाई दुःख दिने काम गरेको भनेर गाली गर्छन्’, उहाँले भन्नुभयो– ‘चुनावका लागि हो र भनेर थर्काउ“छन् ।’

कैलाश गाउँपालिका–६ मा खटिएका एलिश लामालाई पनि गणना गर्न कठिन भएको छ । गाउँघरमा पुग्नेबित्तिकै ‘हामी त कसैलाई भोट दिन्नौं’ भन्ने जस्ता कुरा गर्ने गरेको उहाँले बताउनुभयो । कतिपयलाई जनगणनाबारे जानकारी नहुँदा समस्या भएको र धेरैबेर सहजीकरण गरेपछि मात्र बुझ्ने गरेको उहाँले बताउनुभयो । ‘त्यस्तो होइन भनेर सम्झाउँदा धेरै ठूलो कुरा नगर बाबु भनेर भन्नुहुन्छ ।’ –लामाले भन्नुभयो । राष्ट्रिय जनगणनामा आमनागरिकको सहभागिता उत्साहजनक देखिए पनि गणकहरु भने हैरान छन् । रोजगारीको अवस्था, खानेपानी, नेट-इन्टरनेटदेखि सरसफाइको कुरासम्म सोधिने गर्दा स्थानीयहरु झर्किने र गाली गर्ने गरेको गणकहरु बताउँछन् ।

गणकहरु घरमा गएर रेडियो, टिभीदेखि अनेकौं प्रश्न गर्दै गर्दा उनीहरुलाई उल्टै कति तलब दिन्छन्, यो केका लागि हो भनेर जवाफ दिन हिच्किचाउने गरेको गणक बताउँ छन् । त्यसो त जनगणना भन्नाले मान्छेको टाउको गन्ने भ्रम पनि छ । लामो प्रश्नावली देख्दा कतिपय उत्तरदाताले झन्झट मान्ने गरेको भन्दै जनगणनामा सहभागीलाई रेडियो छ कि छैन, बाइक छ कि छैन, पैसा, खाता कति वटादेखि लिएर अनेकौं प्रश्न गरेकोमा उनीहरु काम नपाएर आएको भन्दै झर्किने गरेको एक गणकले बताइन् । तर, जनगणनामा आमसहभागिता भने उत्साहजनक छ । यो १२औं राष्ट्रिय जनगणनामा गणकले परिवार संख्यादेखि जोखिम र विपद् तथा हातहातमा बोक्ने मोबाइलसमेतका ८० वटा प्रश्न सोध्छन् ।

जनगणना मुलुकको यथार्थ बुझ्न सबभन्दा प्रभावकारी माध्यम भएकाले आमजनताले हरेक प्रश्नको सही जवाफ दिन र जनगणनामा सहभागी हुन आवश्यक रहेको उल्लेख छ । संघीयता कार्यान्वयनपछिको पहिलो र विगतमा भन्दा विस्तृत तथ्यांक संकलनको लक्ष्य राखिएको जनगणनालाई सफल बनाउन तथ्यांक विभागले पनि अपिल गरेको छ ।‘मेरो गणना–मेरो सहभागिता’ भन्ने नारासहित राष्ट्रिय जनगणना–२०७८ कात्तिक २५ गतेदेखि भइरहेको छ । तथ्यांक विभागले जनगणनामा सोधिएका प्रश्नहरुको सही जवाफले राष्ट्रिय नीतिनिर्माणमा योगदान पुग्ने वागमती प्रदेश जनगणना कार्यालय हेटौंडाका जनगणना अधिकारी राजेश दास बताउनुहुन्छ ।

जनगणनाका लागि मकवानपुरमा ५ सय ६८ गणक र १ सय ४१ सुपरीवेक्षक खटिएका छन् । जनगणना कार्य मंसिर ९ गतेसम्म चल्ने प्रदेश जनगणना कार्यालय हेटौंडाका जनगणना अधिकारी दासले जानकारी दिनुभयो । दासले जनगणनाका लागि घर–घर आउने गणक तथा सुपरीवेक्षकलाई सही सूचना दिएर सहयोग गर्न अनुरोध गर्नुभयो । ‘जनगणनामा खटिएकालाई सबैले सत्यतथ्य सूचना दिनुहोला, जसले गर्दा सही तथ्यांक समावेश हुनेछ र नीतिनिर्माणमा समेत सघाउ पुग्नेछ ।’ –उहाँले भन्नुभयो ।