विश्व समुदायलाई साम्राज्यवादी उपनिवेशविरुद्ध लड्न अध्यक्ष पराजुलीको आह्वान 


दिपेन्द्र गजुरेल, स्पेन ।

विश्व समुदायलाई साम्राज्यवादको उपनिवेश विरुद्ध लड्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आह्वान गरेका छन् । स्पेनको मालागास्थित दोस्रो अन्तर्राष्ट्रिय यूथ फोरम अफ सोलिडारिटी (2nd international youth forum of solidarity) स्पेनिस यूथ काउन्सिलको निमन्त्रणामा नेपालको तर्फबाट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले विश्वभरका साम्राज्यवाद र त्यसको उपनिवेशहरूको बाकी अवशेषहरूलाई समेत समाप्त पार्नका लागि विश्वभरका यूथहरूले अभियान जारी राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

यसै गरी अध्यक्ष पराजुलीको नेतृत्वमा  उपाध्यक्ष सुदिप शर्मा,उपमहासचिव मेघनाथ चापागाईँ र स्थायी समिति सदस्य पङ्कज कर्ण सहभागी भएका छन् । विश्वका ५० देशबाट १ सय ४० भन्दा बढी  प्रतिनिधिहरू सहभागी भएको उक्त सम्मेलनमा नेकपा एकीकृत समाजवादी पार्टीको टिसर्ट र सङ्गठनको मास्क समेत वितरण गरिएको उपाध्यक्ष सुदिप शर्माले नेपाल समाचारपत्रलाई बताए ।

अफ्रिका, जापान,कोरिया, जर्मनी, अमेरिका, ब्राजिल, मेक्सिको र रसिया  लगायत देशका युवा विद्यार्थीहरूको संघ संगठनहरुको प्रतिनिधित्व रहेको छ । साम्राज्यवाद , उपनिवेशवाद विरुद्ध समानता स्वतन्त्रताको पक्षमा विश्व समुदायमा ऐक्यबद्धता जनाउने प्रतिबद्धता समेत व्यक्त गरेको अध्यक्ष पराजुलीले बताए ।

उक्त सम्मेलन स्पेनको मालागा राज्यमा नोभेम्बर २६ देखि २८ सम्म चल्नेछ ।नेकपा एकीकृत समाजबादि निकट विद्यार्थी संगठन अनेरास्ववियूको टोली युरोपका विभिन्न देशमा रहेका पार्टी निकट प्रवासी नेपाली एकता मञ्चका नेताहरूसँग भेटघाट र संगठन बिस्तार गर्ने कार्यक्रम समेत रहेको उपाध्यक्ष सुदिप शर्माले जानकारी गराएका छन् ।