कांग्रेस जिल्ला अधिवेशन : कास्कीमा २०२५ मत खस्यो



न्युज अफ नेपाल, पोखरा।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सम्पन्न जिल्ला अधिवेशन अन्तरगत कास्कीमा कुल २०२५ मत खसेको छ ।
कास्की जिल्लामा कुल २०८० मतदाता रहेका छन् । सो अनुसार मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला सचिवका उम्मेदवार समेत रहेका विद्यार्थी नेता भानु ढकालले शान्तिपूर्ण रूपमा उल्लासका साथ निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
निर्वाचनले आगामी नेतृत्व राम्रो आउनेमा आशावादी रहेको ढकालले सुनाउनुभयो । १३ औँ महाधिवेशन भन्दा १४ औँ महाधिवेशनमा धेरै भिन्नता रहेको जानकारी दिनुभयो ।

उहाँले समावेशिताले निर्वाचनको रौनक थप बढेको बताउँदै युवाको जोस र जाँगरले कांग्रेसलाई बलियो बनाउने देखिएको धारणा राख्नुभयो । ‘मतदान स्थल भित्र मात्रै होइन ।
मतदान बाहिर युवाको समर्थनले नै आगामी कांग्रेस कुन बाटोमा जान्छ भन्ने देखाइरहेको छ । यो त सुरुवात मात्रै भएको हो । अझ धेरै गर्न बाँक छ’ उनले भने । निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने नेता, पार्टी कार्यकर्ता, आम सर्वसाधारण तथा सुरक्षा निकायको समेत उत्तिकै महत्त्वपूर्ण भूमिका रहेकोमा सबैलाई धन्यवाद समेत दिनुभयो ।
प्रदेश प्रतिनिधि बोधराज कार्कीले जिल्लामा ५ जना सभापतिका प्रत्याशित सहित सदस्यसम्मका उम्मेदवार सबैले सौहाद्रपूण वातावरण बनाएको बताउनुभयो । ‘कांग्रेसको घर भित्रको चुनाव हो । जसले जिते पनि वा हारे पनि आगामी दिनमा चट्टकै बिर्सेर स्थानीय चुनाव, प्रदेश चुनाव र संघीय चुनावमा जानुपर्दछ ।
त्यसैले पनि यो अधिवेशनले आगामी दिनमा सबै तहमा चार तारे झण्डा फैलाउने किसिमले जाने सन्देश दिएको छ’ उनले भने । निर्वाचनको सहभागिता देख्दा अबको ३ तहको निर्वाचनमा समेत कांग्रेस एक हुने देखिएको कार्कीले सुनाउनुभयो ।
यस्तै सहसचिवका उम्मेदवारी दिएका नेविसंघ कास्कीका पूर्व सभापति विकास थापाले कांग्रेसको १४ औँ महाधिवेशनले हरेक वर्ग र समुदायलाई समेटेको बताउनुभयो । उहाँले निर्वाचन उत्साहजनक तरिकाले सम्पन्न भएकोमा सबैलाई धन्यवाद समेत दिनुभयो । हार जित आफ्नो ठाउँमा रहे पनि निर्वाचन सम्पन्न हुनु मुख्य कुरा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्