कांग्रेस अधिवेशन : बागमतीमा बानियाँ र माइकलबीच प्रतिस्पर्धा


न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेस मकवानपुरका वर्तमान र पूर्वसभापतिहरु पार्टीको वागमती प्रदेशमा नेतृत्व हत्याउने दाउमा देखिएका छन् । पार्टी जिल्ला सभापति एवम् वागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र पूर्वसभापति रामचन्द्र अर्याल (माइकल) ले पार्टीको प्रदेश सभापतिमा आफ्नो उम्मेद्वारी रहने बताएका हुन् ।

शेरबहादुर देउवानिकट बानियाँले प्रदेशका कांग्रेसजनको नेतृत्व गर्ने इच्छा रहेको सुनाउनुभयो । कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसात् गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरका रुपमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिने उहाँले बताउनुभएको छ । वागमती प्रदेशलाई समृद्ध बनाउन ‘मास्टरप्लान’ बनाएर अघि बढिने बताउनुभएका उहाँले भन्नुभयो–म एउटा योजनासहित अघि बढेको छु ।

केवल निर्वाचनका लागिमात्र मेरो एजेण्डा होइन । उहाँले एकपटक प्रदेश सभापति भएर काम गर्ने मौका प्रदान गरिदिन प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा अनुरोध गर्नुभएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाको समूहबाट प्रदेश सभापतिमा उम्मेदवारी दिने निश्चित भएको उहाँले जानकारी दिनुभयो । बानियाँले भन्नुभयो–नेपाली कांग्रेसको इतिहास सम्मान गर्दै नेताहरुको त्याग, धैर्यता र निष्ठालाई शीरोपर गर्दै संविधानको रक्षा एवम् समृद्ध प्रदेश निर्माणका लागि मेरो उम्मेदवारी हो ।

मकवानपुरमा पार्टी सभापति र वागमती प्रदेशमा संसदीय दलको नेताका रुपमा काम गरिसक्नुभएका उहाँले प्रदेश सभापति भएर १३ जिल्लाको विकास र समृद्धि एवम् कांग्रेसको हितमा काम गर्ने योजना रहेको सुनाउनुभयो । ‘हाम्रो पुस्ताको एजेण्डा जनजीविका परिवर्तन, आर्थिक समृद्धि एवम् विकासको एजेण्डा हुनु जरुरी छ,’ उहाँले भन्नुभयो–जनताका निष्ठा एवम् इमानको राजनीतिको विकासमा लागिपर्नेछु ।

कांग्रेसप्रति युवाकर्षण बढाउँदै अग्रजका सपना पूरा गर्ने मेरो एजेण्डा हो । प्रदेशभित्र स्वास्थ्य र शिक्षा निःशुल्क गराउने योजना रहेको बानियाँको भनाइ छ । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट निर्वाचित बानियाँ २०७४ सालको प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख) बाट एमाले उम्मेदवार राजाराम स्यांतानलाई हराउँदै विजयी हुनुभएको थियो ।

नेपाल कांग्रेसको आसन्न महाअधिवेशनमा वागमती प्रदेश सभापतिमा माइकल रामचन्द्र अर्यालले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । हालै हेटौंडामा क्रियाशील सदस्यहरुको भेलामा नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति तथा वर्तमान जिल्ला कमिटी प्रमुख सल्लाहकारसमेत रहनुभएका अर्यालले यस्तो घोषणा गर्नुभएको थियो ।

रामचन्द्र पौडेल समूहका नेता अर्यालले आफू मकवानपुरको एकमात्र सभापतिको उम्मेदवार बन्नेमा विश्वस्त रहेको बताउनुभए पनि देउवा समूहबाट बानियाँको पनि उम्मेदवारी निश्चय भइसकेको छ । २०४६ सालको आन्दोलनमा अग्रपंक्तिमा रहेर मोर्चा सम्हाल्नुभएका नेता अर्यालले कांग्रेसमा देखिएको गुटगत् राजनीतिलाई पन्छाएर सम्पूर्ण कांग्रेसजनलाई एउटै चारतारे झण्डाको छातामुनि ल्याउने प्रतिवद्धता व्यक्त गनुृभएको छ ।

नेता अर्यालले नेपाली कांग्रेसभित्रको गुटको दम्भका कारण गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले हार व्यहोर्नुपरेको स्मरण गर्दै आगामी स्थानीय निर्वाचनमा यस्तो अवस्था आउन नदिन सम्पूर्ण कांग्रेसजनमा आग्रहसमेत गर्नुृभएको छ । अर्यालको जीवन संघर्षमय छ । २०३६ बैशाख १४ गते मुलुकमा पञ्चायती व्यवस्था थियो । तत्कालीन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो ।

त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका सबै क्षेत्र आक्रान्त थियो । नेपाल विद्यार्थी संघले तत्कालीन निरंकुश व्यवस्थाविरुद्ध आन्दोलन घोषणा ग-यो । आन्दोलनले चर्को रुप लि“दै थियो । त्यसताका अर्याल हेटौंडाको भुटनदेवी स्कुलमा कक्षा–९ मा अध्ययनरत् हुनुहुन्थ्यो । १३/१४ वर्ष उमेरमा उहाँ विद्यार्थीलाई नेतृत्व गर्नुहुन्थ्यो ।

आन्दोलन सुरु भयो भुटनदेवी स्कुलबाट । विद्यार्थी आन्दोलनलाई समर्थन जुटाउन हेटौंडा औद्योगिक क्षेत्र बन्द गराउने योजना थियो अर्यालसहित विद्यार्थीहरुको । भुटनदेवी स्कुलबाट औद्योगिक क्षेत्रमा रहेका उद्योगहरु बन्द गराउन अर्यालहरु कर्रा हुँदै त्यसतर्फ जाँदै थिए । कर्रा पुलमा प्रहरीहरु आन्दोलन नियन्त्रणका लागि बसिरहेका थिए । जम्काभेट हुनासाथ प्रहरी र आन्दोलनकारीबीच झडप सुरु भयो । प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गर्न थाल्यो ।

विद्यार्थीहरुले प्रहरीलाई ताकेर ढुंगामुढा प्रहार गर्न थाले । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । प्रहरीले हानेको गोली अर्यालको दाहिने खुट्टामा लाग्यो । उहाँ ढलेर र बेहोस हुनुभयो । विद्यार्थीहरुले उहाँलाई अस्पताल लगे । हेटौंडामा उपचार हुन नसकेपछि अर्याललाई काठमाडौं पठाइयो । ३ महिना लामो उपचारपछि उहाँ निको त हुनुभयो । तर, पहिलेको जस्तो हि“डाइ भएन ।

खुट्टा खोच्याएर हिँड्न थाल्नुभयो । हालसम्म पनि उहाँ उसैगरि हि“ड्नुहुन्छ । हो, त्यही दिनदेखि रामचन्द्र अर्यालबाट उहाँ माइकल रामचन्द्र अर्याल हुनुभयो । २०३८ सालमा उहाँ नेवि संघ मकवानपुरका सचिव र २०४६ मा अध्यक्ष हुनुभएको थियो । माइकललाई ३ वटा मुद्धा लगाइयो । विद्यार्थी आन्दोलनका क्रममा एक प्रहरीको ज्यान गएको थियो ।

माइकललाई सोही प्रहरीको हत्या अभियोग लगाइयो । राज्यविरुद्ध अपराध गरेको अभियोग पनि लगाइयो । सरकारी सवारीसाधन तोडफोड गरेको अर्को अभियोग पनि थप भयो । तर, कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले उहाँमाथि लागेका सबै मुद्धा फिर्ता लियो ।
उहाँहरुले मंसिर १६ र १७ गते प्रदेश राजधानी हेटौंडामा हुने कांग्रेसको वागमती प्रदेश अधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी रहने निश्चित भएको बताउनुभएको छ ।