एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा


भरतपुर ।

नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताउनुभएको छ । चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले पार्टी विधान महाधिवेशनले त्यसलाई पुष्टि गरेको बताउनुभयो ।

महाधिवेशनपछि जनताको बहुदलीय जनवाद ‘जबज’ सही छ भन्ने थप पुष्टि भएको नेता थापाको भनाइ थियो । उहाँले देशीविदेशी तत्वले नेकपालाई तीन टुक्रा पारेको आरोप लगाउनुभयो ।

नारायण नदी किनारामा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उहाँले नेपालको झण्डा, नेकपा एमालेको चुनाव चिह्न सूर्य, कम्युनिष्टको हँसिया हथौडा अङ्कित झण्डालाई एकसाथ स्विचमार्फत झण्डोत्तोलन गर्नुभयो ।