राष्ट्रिय संगीतकर्मी संघको ५ औं महाधिवेशन सम्पन्न, अध्यक्षमा शाह विजयी

0
Shares

न्युज अफ नेपाल,  धुलिखेल ।

कलाकारहरूको साझा संगठन राष्ट्रिय संगीतकर्मी संघको ५ औं महाधिवेशन सम्पन्न भएको छ । संघको पाँचौँ अधिवेशनले कलाकार तथा चलचित्र निर्माता बिक्रमजंग शाहलाई भारी मतकासाथ अध्यक्षमा विजयी गराएको छ । अध्यक्ष पदमा शाहले नमराज ढुंगानालाई भारी मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन । खसेको ६३२ मतमा बिक्रमजंग शाहले ५ सय ३८ मत प्राप्त गरेका थिए भने शाहका प्रतिद्वन्द्वी नमराज ढुंगानाले ८५ मत प्राप्त गरेका थिए ।

यस्तै संस्थाको महासचिव पदमा भएको निर्वाचनमा अमृत खातीले ऋषि अधिकारीलाई भारी मतले पराजित गरे । महासचिवको लागि भएको निर्वाचनमा १ सय ६ मत ल्याएका अधिकारी लाई खातीले ४ सय ९८ मत प्राप्त गरी भारी मतान्तरले विजयी भए । अध्यक्ष र महासचिव बाहेक अन्य पदमा निर्विरोध भएको थियो । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रकाश कटुवाल, प्रथम उपाध्यक्षमा उमा श्रेष्ठ, उपाध्यक्षहरूमा श्यामसुन्दर धिताल, शर्मिला श्रेष्ठ, मिलन श्रेष्ठ र होम सुवेदीलाई निर्विरोध निर्वाचित गरायो ।

त्यस्तै उप–महासचिवमा विनोद ढकाल र जीवन परियार, सचिवमा थानेस्वर अधिकारी, मन्जु गौतम, शिव प्रशाद घिमिरे, सूर्य कुमार श्रेष्ठ, सह सचिव आशा लामा, प्रवक्तामा कुमार कार्की, कोषाध्यक्षमा राजकुमार हुमागाईँ, सह कोषाध्यक्षमा सिर्जु अधिकारी चुनिएका छन् ।
त्यसैगरी सदस्यहरु रबिन्द्र रिमाल, शंकर ढकाल, गोविन्द गौतम, सन्ध्या सानु, अनिता बस्नेत , सुनिता तामाङ, दिनेश रन्जन, अन्जु पण्डित, दिपकराज जोशी, विनोद रन्जन र मनोहर प्रसाद महतो निर्विरोध निर्वाचित भए ।

अध्यक्षमा निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष शाहले संस्थालाई एक ढिक्का बनाएर अगाडी बढ्दै जाने प्रतिबद्धता व्यक्त गरे । शाहले अझै कलाकारहरूको हकहितका लागी कार्य गर्दै अगाडी बढ्ने बताउँदै कलाकारहरूको पिर मर्कामा सधैँ साथ दिने बताए । यस्तै नवनिर्वाचित महासचिवमा खातीले संस्थामा सबै युवा कलाकारहरूको टिम विजयी भएकोले कलाकारहरूको हक अधिकारको लागी संस्थाले धेरै काम गर्ने र सबै जिल्लामा शाखा खोल्न पहल गर्ने बताए ।

यसअघि संस्थाको नेतृत्व घमेश दुलाल, रेशम थापा, नवराज घोरासैनी र राजेन्द्र कुमार कार्कीले सम्हालिसकेका छन् । यस अघि भृकुटी मण्डपमा संस्थाको पाँचौँ अधिवेशनको संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका थिए । बन्द सत्र र निर्वाचन कार्यक्रम भने नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो ।