प्रारम्भिक परिणाम पौडेलको पक्षमा,५ प्रदेशमा देउवा अल्पमतमा


काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सभापति शेरबहादुर देउवाका लागि ‘फलामको चिउरा’ सरह हुने भएको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा संस्थापन इतर पक्ष बलियो देखिएपछि देउवा समस्यामा परेका हुन् । हालसम्म ७ मध्ये प्रदेश २ बाहेकका ६ वटा प्रदेशका प्रारम्भिक परिणाम आइरहेका छन् । जसमध्ये सुदुरपश्चिमबाहेकका प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापन इतर समूह बलियो हुने देखिएको छ ।

सभापति देउवाको गृह प्रदेशमा पौडेल पक्षले विगतमा भन्दा सुधार गरेको छ । देउवाको पुर्ख्यौली डोटीमा जिल्ला सभापतिको प्रतिस्पर्धामा प्रदीप देउवा तेस्रो  भएका छन् । बाजुरामा यसअघि पौडेल पक्षले जित हासिल गरिसकेको छ । देउवाको गढ भनिने बैतडीमा पौडेल पक्षकै उम्मेदवार चतुरबहादुर चन्द सभापतिमा निर्वाचित भएका छन् । कञ्चनपुर, कैलाली लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षले विगतमा भन्दा संख्या थप गरेको छ । दार्चुलामा पौडेल पक्ष पहिलेदेखि नै बलियो रहँदै आएको थियो । सभापति देउवाको गृह जिल्लामा एकतर्फी रुपमा गरिएको अधिवेशन विरुद्ध आन्दोलन जारी छ ।

कर्णाली प्रदेशको सुर्खेतमा संस्थापन पक्षले विगतमा भन्दा सुधार गरे पनि अन्य जिल्लाको परिणाममा पौडेल पक्ष सुदृढ अवस्थामा छ । लुम्विनी प्रदेशमा पौडेल पक्षले करिब ७० प्रतिशत महाधिवेशन प्रतिनिधि जितेको दाबी गरेको छ । लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, प्युठान, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र नवलपरासी पश्चिममा पौडेल पक्षले स्पष्ट बहुमतसहित महाधिवेशन प्रतिनिधि जितेको अवस्था छ ।गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशाकं कोइरालाले प्रभाव देखाएका छन् । नवलपुर, गोरखा, लमजुङ, मुस्ताङ, तनहुँ , लमजुङ र कास्कीमा पौडेल पक्षको वर्चस्व स्थापित भएको छ । गण्डकी प्रदेशमा देउवा पक्ष अन्यत्र भन्दा कमजोर साबित भएको छ ।

बागमती प्रदेशका केही जिल्लामा संस्थापन पक्ष बलिया देखिएपनि काठमाडौं, चितवन, धादिङ लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधिमा पौडेल पक्ष अगाडि देखिएको छ । मकवानपुर र ललितपुरमा संस्थापन पक्ष बलियो भएपनि काठमाडौं र चितवनको नतिजाले प्रदेशभरिको क्षतिपूर्ति हुने पौडेल पक्षको दाबी छ । प्रदेश २ मा क्षेत्रीय अधिवेशन सुरु भइसकेका छैनन् । त्यहाँ उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षकै वर्चस्व हुने देखिन्छ । प्रदेश १ मा डा.शेखर कोइरालाको नेतृत्वमा संस्थापन इतर समूहले अग्रता लिएको छ । सो प्रदेशमा पौडेल नेतृत्वको समूह पहिलो , कृष्णप्रसाद सिटौला नेतृत्वको समूह दोस्रो र देउवा समूह तेस्रो स्थानमा देखिएको छ । प्रदेश १ का केही जिल्लामा देउवा पक्षले सभापति जितेपनि महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षकै अग्रता देखिन्छ ।

वरिष्ठ नेता पौडेलको सचिवालयले विगतभन्दा निकै राम्रो नतिजा आएको जनाएको छ । पौडेलको सचिवालयले तयार पारेको तथ्यांकमा देउवा पक्षको जम्मा ३५ प्रतिशत हाराहारी शक्ति देखिएको छ । रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा.शेखर कोइरालाबिच आपसमा एकता कायम हुँदा ६० प्रतिशत शक्ति आर्जन गर्ने देखिएको छ । ‘हाम्रो टिमको कुल शक्ति ६० प्रतिशत देखिएको छ  । आन्तरिक एकता कायम गरेर साझा उम्मेदवार दिन सक्यौ भने जुनसुकै अवस्थामा केन्द्रीय महाधिवेशन जित्छौँ’,  पौडेल पक्षको दाबी छ । देशका विभिन्न क्षेत्रमा निर्वाचन हार्नै लाग्दा सभापति देउवा र गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा पौडेल पक्षका कार्यकर्ता कुटिएका छन् । त्यसका बाबजुद पौडेल पक्षले महाधिवेशन प्रतिनिधिहरूमध्ये बहुमत आफ्नो पक्षमा पार्न सफल भएको छ ।