- डा. माधव अधिकारी
वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनीतिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा प्रभावित भई मानव बाँच्ने आधार संख्याहरु नष्ट हुँदै गएको छ । यसको धेरै असर महिला, वृद्ध र बालबालिकाहरुमा परेको छ । संसारभर जलवायु परिवर्तनका कारण बसाइँ सर्नेमध्ये ८० प्रतिशत महिला छन् । नेपालमा पनि विभिन्न अप्ठ्यारामा असमानुपातिक हिसाबले बढी जोखिममा छन् । बाढीपीडितमा पुरुषभन्दा महिला बढी हुने गरेका छन् । कृषिमा पानीको अभाव र जलवायु परिवर्तनले निम्त्याउने नयाँ रोगका कारण अतिरिक्त कामको बोझ पनि महिलालाई बढी पर्ने गर्दछ ।
त्यस्तै पग्लिँदो हिमशृङ्खला जल्दोबल्दो समस्यामा परिणत भएकोले वर्तमान समयमा वातावरणलाई वातावरणप्रेमीलगायत सबैले अति महत्वका साथ हेर्नुपर्ने हुन्छ तर सम्बन्धित पक्षले आफ्नो दायित्व पूरा गरेको देखिँदैन । नेपालमा योजनाकार र नीति निर्माणहरु वातावरणलाई असर पार्ने तत्वहरुको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा नपुगेको कारण यो वातावरणीय दुर्दशा भएको हो । यो परिणाम विगतमा मानिसले वातावरणप्रति गरेको परिणाम तथा त्यसले मानिसलाई पारेको नोक्सानीलाई हेर्दा वातावरणको यथोचित संरक्षणविना दिगो विकास दीर्घजीवी हुन नसक्ने प्रस्ट छ । मानव जातिको समुन्नति एवम् अस्तित्वकै लागि पनि वातावरणको महत्व प्रस्ट हुँदै गएको छ । तसर्थ, मानव जातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जति महत्व छ त्यत्तिकै मात्रामा वातावरणको संरक्षण पनि अपरिहार्य छ । विश्वमा बढ्दै गएको वातावरणीय विनाशले नेपाल र नेपालीहरुको वातावरणीय परिवेशमा पनि नकारात्मक परिणाम ल्याई मानव स्वास्थ्यमा असर पुगी ठूलो आर्थिक क्षति भएको छ ।
यसै सन्दर्भमा कोप–२६ संयुक्त राष्ट्रसंघले आयोजना गर्ने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन सो सम्बन्धी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाम्रो देशको प्रधानमन्त्री लन्डन प्रस्थान भई जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । सो सम्मेलनमा प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण नेपालले धेरै क्षति र नोक्सानी व्यहोरिरहेकोले विकसित मुलुकले अनुकूल र उत्थानशील कार्यक्रमका लागि चाहिने सहयोग सहज तरिकाले उपलब्ध गराउनुपर्ने कुरामा जोड दिएको पाइन्छ । हाम्रो देशको प्रधानमन्त्रीले विकसित मुलुकले दिने आर्थिक सहयोग जोखिमयुक्त मुलुकले सोझै र सरल तरिकाले पाउनुपर्ने जिकिर गर्नुभएको थियो ।
त्यसै गरी नेपालको पछिल्लो दिन जलवायुजन्य क्षति र नोक्सानीमा धेरै विपद्सँग सामना गर्नुपरेको पनि उहाँले प्रस्ट पार्नुभयो । नेपालले जलवायु परिवर्तनसम्बन्धी तीनवटा नीति, राष्ट्रिय कार्यढाँचा तथा राष्ट्रिय अनुकूल कार्यक्रमसमेत स्वीकृत भएको समेत स्पष्ट गर्नुभयो ।
त्यसका लागि कार्यक्रम कार्यन्वयन गर्न सन् २०५० सम्म ४७.४ अर्ब अमेरिकी डलरको आवश्यक पर्नेछ । सो रकम विकसित मुलुकले प्रदान गर्नुपर्दछ । सो मध्ये १.५ अर्ब अमेरिकी डलर आन्तरिक स्रोत परिचालन गर्ने लक्ष्य राखिएको समेत उहाँले बताउनुभयो । विकसित मुलुकले स्न २०२० देखि २०२५ सम्म वार्षिक १०० अर्ब अमेरिकी डलर विकासशील मुलुकलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नसमेत जोड दिनुभएको थियो । प्रधानमन्त्रीले नेपाल अरु देशसँग माग्न मात्र होइन नेपालको समुदाय स्तरमा भएका जलवायु अनुकूलका राम्रा काम सुनाउनसमेत आएको बताउन बाँकी राख्नुभएन ।
१२ वर्षअघि कोपनहेगन सम्मेलनमा विकसित मुलुकले त्यस्तो प्रतिबद्धता जनाएका थिए । हामीले स्थानीय स्तरमा जलवायु अनुकूलका कार्यक्रम गरेको, स्वच्छ ऊर्जालाई जोड, विद्युत् उत्पादन गरी छिमेकी राष्ट्रलाई बिक्री प्रक्रिया, सन् २०४५ सम्म शून्य उत्जर्सन गर्ने योजना भएको बताउनुभयो । जलवायु परिवर्तनका कारण नेपालका हिमाल र हिमनदी पग्लने समस्या बढ्दाको असर तल्लो तटीय क्षेत्रमा पर्ने भएकोले बेलैमा सोच्नसमेत विश्वका नेतालाई आग्रह गर्नुभएको थियो । हिन्दकुश हिमाल क्षेत्रले १.५ अर्ब मानिसलाई पिउने पानी उपलब्ध गराएको छ । जलवायु परिवर्तनका कारण सो पानीको स्रोत सुक्ने सम्भावना छ । नेपालले जलवायुजन्य हानि नोक्सानीमा समेत जोड दिएको पाइन्छ ।
नेपालको सन्दर्भमा वातावरण विनाशबाट जलवायु परिवर्तन भएको छ । जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्याको रुपमा देखिएको छ । हरितगृह ग्यास उत्सर्जनमा न्यूनीकरण नहुनाले तापमान वृद्धि भएको छ । नेपालमा पनि राजधानी काठमाडौंमा ३६ डिग्रीसम्म तापक्रम मापन गरिएको छ । यो जलवायु परिवर्तनको असर हो । नेपालको हिमाली क्षेत्रमा ०.०६ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न गई हिमशृङ्खला पग्लनु, पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टिजस्ता समस्या देखा पर्नु, २००० मिटरको उचाइसम्म लामखुट्टे देखा पर्नु, वन्यजन्तु लोप हुनु, हैजाजस्ता महामारी फैलनु, विनाशकारी आँधी र बाढी आउनु, नदीनालाको सतह घट्दै जानु आदि वातावरण विनाशबाट उत्पन्न परिणाम हुन् ।
विकास गर्ने क्रममा वातावरण विनाश विभिन्न किसिमले भएका छन् । बढ्दा डोजर आतंक, वनजंगल फँडानी, अव्यवस्थित विकास–निर्माणका कार्यहरु, उद्योग÷कलकारखानको धुँवा, तिनले गर्ने फोहोर उत्सर्जन, कार्बन मोनोअक्साइड उत्सर्जन, यातायातका साधनहरु, रेफ्रिजेरेटर, जाडोमा तताउने र गर्मीमा चिस्याउने साधनहरु, आधुनिक सुविधाका लागि उपयोग हुने विद्युतीय र डिजेल÷पेट्रोलका साधनहरुबाट विश्वमा धुवाँ, ताप उत्सर्जन भइरहेको छ । हरितगृह ग्यास उत्सर्जनको असर बढिरहेको छ । ओजोन तहमा प्वाल परेको छ । फलस्वरुप विश्वव्यापी तापक्रम बढेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको वल्र्ड इकोनोमिक आउटलुकमा उल्लेख भएअनुसार, विश्वमा कार्बन उत्सर्जन न्यूनीकरण नीतिहरु नल्याउने हो भने आगामी शताब्दीसम्म विश्वव्यापी तापक्रम औसतमा २.८ प्रतिशत र बढीमा ५ प्रतिशतसम्म बढ्नेछ । यस्ता नीतिहरुको अभावमा कार्बन उत्सर्जन पनि सन् २००० र २०३० का बीचमा २२ प्रतिशतदेखि ८८ प्रतिशतसम्म बढ्ने अनुमान छ ।
एसियाली विकास बैंकको प्रक्षेपणअनुसार, सन् २०८० सम्ममा दक्षिण एसियामा ४ देखि ५ डिग्री सेन्टिग्रेडसम्म तापक्रम बढ्नेछ । त्यस्तै, आईसीडीले सन् २०१५ मा गरेको एक अध्ययनअनुसार, विश्वव्यापी तापक्रम यही गतिमा बढ्ने हो भने सन् २०६० सम्ममा विश्वको कुल गार्हस्थ्य उत्पादन १ प्रतिशतदेखि ३.३ प्रतिशतसम्म र सन् २१०० सम्ममा २ प्रतिशतदेखि १० प्रतिशतसम्म नोक्सानी हुनेछ । त्यस्तै, विकिपिडियाले गरेको अध्ययनअनुसार, सन् २०१९ मा जलवायु परिवर्तनले निम्त्याएका प्राकृतिक प्रकोपहरुले विश्वमा १०० अर्ब डलर बराबरको क्षति भएको छ । मौद्रिक एकाइका रुपमा मापन गर्न नसकिने मानवीयलगायत जैविक विविधताजन्य क्षति पनि उत्तिकै छन् । अतः जलवायु परिवर्तन, तापक्रम वृद्धिले विश्वमा वनजंगल, जैविक विविधता, कृषि जलसम्पदा, हिमालय, पर्यटन, ऊर्जा र मानव स्वास्थ्यजस्ता सम्पूर्ण पक्षमा असर पारेको छ । भूमण्डलीय औतसको तुलनामा दोब्बर दरले हिमालहरु तात्ने क्रमसँगै उच्च तापक्रम र जलवायु परिवर्तनले ल्याउने प्रकोपहरुको संख्या र सघनतामा समेत वृद्धि हुने अनुमान छ ।
यस्ता असरलाई सम्बोधन नगर्ने हो भने, तिनले न्यूनतम स्रोत–साधन भएका र अक्सर जलवायु परिवर्तन गराउन न्यूनतम भूमिका भएका मानिसहरुको जीवन र जीविकोपार्जनलाई असमानुपातिक तरिकाले जोखिममा पारी ठूलो आर्थिक क्षति हुन्छ ।
वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरुको अस्तित्वका लागि अति आवश्वयक हुन्छन् । यी जैविक वस्तुहरुमा भएको वातावरण विनाशको मात्राले पनि बृहत्रुपमा प्रभाव पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ । मानिसको अस्तित्वको लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानवजीवन नै पूर्ण संकटमा परी ठूलो आर्थिक क्षति हुनु हो । मानिसको आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरु ग्रहण गर्दछ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ नकि वातावरणीय विनाशबाट । वातावरण विनाशबाट हाम्रो जस्तो विकासोन्मुख देशमा अर्बाैं धनराशीको नाश भएको छ । वातावरण विनाशको कुप्रभावले देशै आर्थिक दलदलमा फसेको छ ।
फोहोरमैलाको उचित समाधान नहुनु पनि वर्तमान वातावरणको विनाशको एक प्रमुख तत्वको रुपमा लिन सकिन्छ । घरायसी प्रयोजनबाट, कारखानाबाट, अस्पतालबाट, सडेगलेका वस्तुहरुबाट, वायु, जल, माटो आदिमा हानिकारक तथा घातक फोहोरमैला निस्कन्छ । यसको उचित व्यवस्थापनको अभावले पनि वातावरणमा तीव्र हानि पु¥याउँछ । यस्तै भूक्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्ल वर्षा, पग्लिँदो हिमशृङ्खलाजस्ता जल्दाबल्दा समस्या वातावरण विनाशको कारक तत्वका उपज होइनन् र ? वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई पृथ्वीको तापक्रममा परिवर्तन हँुदा हिउँ पग्लिएर हिमालहरु काला पहाडमा परिणत भएका छन् भने कहीँ अप्रत्याशितरुपमा हिमपात भएका छन् । वर्षायाममा वर्षा नभई धान, मकै, आलुजस्ता कृषि उत्पादनमा ठूलो असर परेको छ र सोही कारण कृषि उत्पादनमा वृद्धि गर्न र कीटपतंग तथा बालीरोग नियन्त्रण गर्न कीटनाशक औषधि प्रयोग गर्दा वातावरण तथा मानव स्वास्थ्यमा थप असर परेको छ ।
जनचेनतनामा वृद्धि, वन संरक्षण, बढ्दो सवारीसाधनको नियन्त्रण, भू तथा जलाधारको संरक्षण, जनसहभागितामा वृद्धि, विद्यार्थी हरुको भूमिका, गैरसरकारी संस्थालाई उचित प्रयोग, नैतिक शिक्षा, आमसञ्चार, दिगो योजनाकार, संरक्षणको मुख्य संरक्षक तत्वहरु हुन् ।मानवजीवनलाई सुखमय बनाउने क्रममा भएका विकास प्रयास र वातावरण सन्तुलनबीच तादात्म्य मिलाउन नसक्दा विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रकोप बढ्ने क्रम जारी छ । जलवायु परिवर्तनका मुख्य प्रभावहरु हिउँ कम पर्नु, हिमालमा हिउँ छिट्टै पग्लिनु, बाढीपहिरो, भूक्षय, जनधनको क्षति, वन डढेलो, सुख्खा बढनु, पानीको मुहान सुक्नु, अनावृष्टि, अतिवृष्टि, कीटपतंगको वृद्धि भई कृषि उत्पादनमा कमी आउनु, निर्यातमा कमी र आयातमा वृद्धि भई व्यापार घाटा बढ्नु, मानवस्वास्थ्यमा असर, बेरोजगारीको सृजना, कुल गार्हस्थ्य उत्पादनमा कमी र आर्थिक मन्दी आदि हुन् ।
प्रतिक्रिया