शिक्षा, उद्योग र समुदाय जोड्ने विश्वविद्यालयको परियोजना


मोतीराम तिमल्सिना, काभ्रे ।

कोईका नेपालको आर्थिक सहयोगमा काठमाडौ विश्विद्यालय, नेपाल टेक्नोलोजी इनोमेसन सेन्टरले दोश्रो चरणको कार्यक्रम अनुसन्धानमुलक परियोजना शुरु गरेको छ ।

विश्वविद्यालय अध्ययन गर्ने र गराउने मात्रै नभई अनुसन्धान गरी समुदायलाई लाभान्वित गराउने उदेश्य सहित उक्त कार्यक्रम दोश्रो चरणमा विश्वविद्यालय भित्रका प्राध्यापकहरुलाई मात्रै नभई स्वतन्त्र रुपमा परियोजना पेश गरी ब्यवसाय गर्न आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने गरी आवेदन खुल्ला गरेको छ ।

आवेदन पुष ५ गतेसम्म विश्व्वविद्यालयको बेभ साईडमा हेर्न सकिने ब्यवस्था मिलाईएको छ । विश्वविद्यालयका प्राध्यापक एवं परियोजनाका टिम लिडर डा. विमप्रसाद श्रेष्ठले पहिलो चरणमा पाईलट प्रोजेक्टका रुपमा परियोजना सफल भएकाले दोश्रो चरणको परियोजना शुरु गरिएको बताउनु भयो । ‘कोईकाको आर्थिक सहयोगमा कृषि र ग्रामीण विकास, बैकल्पिक र नबीकरणीय उर्जा र स्वास्थ्य सम्वन्धि जीविकोपार्जन सम्वन्धी परियोजना आब्हान गरेका छौं’– प्रो.डा. बीमप्रसाद श्रेष्ठले भन्नुभयो–‘विश्वविद्यालय भित्र तीन करोड र बाहिर तीन करोड रुपैयामा अनुसन्धान गर्ने गरी प्रस्ताव आब्हान गरेका छौं ।’ ६ वटा परियोजनालाई ५० लाखका दरले अनुदान उपलब्ध हुनेछ ।

नेपालको ग्रामीण क्षेत्रका आर्थिक र सामाजिक समस्याहरू समाधान गर्न प्रविधिको विकासलाई समर्थन गर्नु, नवीन प्रविधिहरूको प्रचार–प्रसारको लागि व्यवसायिक मोडेल वा व्यावसायीकरणको विकास गर्नु, प्राविधिक विकास समर्थनको सञ्चालन योजना मान्य र सम्भाव्य छ भने परीक्षण गर्नु, ग्रामीण विकासको लागि भविष्यका प्राविधिक आविष्कारहरूको लागि महत्त्वपूर्ण जानकारी उत्पन्न गर्नु परियोजनाको मुख्य उदेश्य हो । राष्ट्रब्यापी आब्हान गरिएका परियोजना उपयुक्त भएमा मात्रै स्विकृत गरिनेछ ।परियोजनाका लागि प्रमुख अन्वेषकहरू नेपाली नागरिक हुनुपर्दछ ।

कुनै पनि व्यक्ति वा कुनै संस्था वा नेपाल स्थित कुनै पनि संघबाट आवेदन गर्न सकिनेछ । परियोजना टोलीलाई विश्वविद्यालय, उद्योग, गैर सरकारी संस्था, निजी फर्म आदि सहित साझेदार संस्थाहरूको एक संघमा संगठितको हकमा बिशेस ग्राह्यता दिईनेछ । साझेदार संस्थाको लागि व्यक्तिगत साझेदार नेपाली नागरिक हुनुपर्छ भने साझेदार संस्था नेपालमा आधारित हुनुपर्छ । परियोजनाहरूको योग्यता विषयगत क्षेत्रहरु मध्ये कुनै एक संग सम्बन्धित परियोजनामा उल्लेखित सबै विषयगत क्षेत्रहरूलाई जोड्ने र क्रस कटिङ क्षेत्रहरूलाई जोड्ने प्रविधि विकास आयोजनालाई प्राथमिकतामा राखिएको छ । उक्त परियोजना एक वर्ष भित्र सम्पन्न भईसक्नु पर्नेछ । विशेषगरी बैदेशिक रोजगारबाट फर्किएका युवाहरुले परियोजना गर्न चाहेको अवस्थामा उनिहरुलाई आर्थिक र प्राविधिक दुबै सहयोग उपलब्ध गराईने छ ।

परियोजनाका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा डा. विराज कर्माचार्य, कोईकाका तर्फबाट प्रो.इनो ह्वाङ्ग, प्रो युनर्जी सो, विश्वविद्यालयका तर्फबाट डा. कमल चापागाई, डा. विनय केसी लगायतले शिक्षा, उद्योग र समुदाय बीचको सम्वन्धलाई स्थापित गर्न उक्त परियोजना महत्वपूर्ण हुने बताउनु भयो । रोजगारको सिर्जना, उद्योगलाई सहज र अध्ययन गर्नेलाई ज्ञान र अनुसन्धान पूदान गर्न परियोजना महत्वपूर्ण हुने सहभागिहरुले बताउनु भएको थियो । अध्ययन अनुसन्धान समुदायका लागि उपलब्धीमुलक होस भन्ने उदेश्यले कोईकाको सहयोगमा विश्वविद्यालयले ६ करोडको परियोजना दोश्रो चरणमा संचालन गर्न लागेको हो ।