शेयर कर्जामा ४/१२ को सिमा संशोधन गर्न दबाब



काठमाडौं  ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रयमासिक समीक्षालाई पुँजी बजारले प्रतीक्षा गरिरहेको छ । पुँजी बजारमा बढ्दै गएको दबाबलाई सम्बोधन गर्नका निम्ति मौद्रिक नीतिको समीक्षा आवश्यकपर्ने भएकाले पुँजी बजार प्रतीक्षामा रहेको रहेको हो ।चालू आर्थिक वर्षको मौद्रिक नीतिमा तीव्र आलोचना भइरहेको शेयर मार्जिन कर्जाको सिमा ४-१२ को प्रावधानमा संशोधन हुने अपेक्षमा लगानीकर्ता रहेका छन् ।

केन्द्रीय बैंकलाई शेयर मार्जिन कर्जाको सिमा विषय बढी टाउको दुखाई भइरहेको छ । शेयर बजारका लगानीकर्ताले संशोधन गर्नका निम्त दबाब सिर्जना गरिरहेका भने अर्थ मन्त्रालयले पनि संशोधन गराउन घुमाउरो बाटो समातेको छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार शेयर मार्जिन लोनमा विद्यमान ४-१२ को प्रावधानलाई सम्बोधन गर्ने सन्दर्भमा लचक देखिएको छ । लगानीकर्ताले माग गर्दै आएको जस्तै कर्जाको सिमा हटाउने नभएर केही लचकता अपनाउनेतर्फ केन्द्रीय बैंकले कदम चाल्न सक्ने स्रोतको दाबी छ । त्यस्तै सीसीडी रेसियो र सीडी रेसियोको सन्दर्भमा पनि केन्द्रीय बैंकले पुनर्विचार गर्न सक्ने स्रोतको भनाइ छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेपछि मात्रै पुँजी बजारले लय समात्ने आँकलन लगानीकर्ताको छ ।

यसैबीच साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज ९ नेप्से० परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से ७ दशमलव ९० अंकले बढेर २७६५ दशमलव ४३ बिन्दुमा पुगेको छ । सोमबारको कारोबारपछि नेप्सेमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण ३८ खर्ब ८९ अर्ब ६० करोड ७० लाख ६९ हजार रुपियाँ पुगेको छ ।नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ओरालो लागेको छ । कुल २२५ कम्पनीको ७५ लाख ६५ हजार कित्ता शेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपियाँमा कारोबार भएका छ ।कारोबार भएका समूहमध्ये सोमबार पाँच समूहको घट्दा बाँकी आठ समूहको सूचक बढेको छ । जसमध्ये बैंकिङ समूह २ दशमलव ८९, व्यापार १५ दशमलव ८३, होटल तथा पर्यटन १४९ दशमलव ७६, जलविद्युत् १० दशमलव ९२, निर्जीवन बीमा ९९दशमलव ४८, अन्य २७ दशमलव ६५, सामूहिक लगानी कोष शून्य दशमलव शून्य ६ र लगानी समूह शून्य दशमलव ७२ अंकले बढेका छन् ।

त्यस्तै विकास बैंक ३४ दशमलव ९९, वित्त २३ दशमलव २९, उत्पादन २४ दशमलव ९१, लघुवित्त १४ दशमलव ५७ र जीवन बीमा समह ७ दशमलव शून्य ८ अंकले घटेका छन् ।सोमबार कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३४ करोड ४१ लाख २५ हजार रुपियाँको कारोबार भएको छ ।त्यस्तै, दूरसञ्चार कम्पनीको २९ करोड १८ लाख ६७ हजार, अरुण काबेली पावरको १४ करोड ८७ लाख ६७ हजार, हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २७ लाख ८३ हजार र नबिल बैंकको १२ करोड ४८ लाख ४५ हजार रुपियाँको कारोबार भएको छ ।

त्यस्तै सोमबार पनि मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरि हिल्स ९ दशमलव ७५, एनआईबीएल प्रगति फन्ड ६दशमलव ७६, खानीखोला हाइड्रोपावर ५ दशमलव शून्य ३ र नेपाल इन्स्युरेन्स कम्पनीका लगानीकर्ताले ४ दशमलव शून्य ८ प्रतिशतले कमाएका छन् । तर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, तेह्रथुम पावर कम्पनी, साना किसान विकास बैंक र गुहे्रयश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्