म्याराथनमा किरणसिंह र सन्तोषी पहिलो


बाँके । 

सातौं धारा नेपालगञ्ज म्याराथनमा एपीएफका किरणसिंह बोगटी र धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भएका छन् ।नेपालमा भएको १३औं सागका स्वर्ण विजेता बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा दौड पूरा गरेका हुन् । नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै बोेगटी पहिलो भएका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका हुन् ।

एपीएफका सन्तोष विष्ट २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छन् । खड्गबहादुर खड्का २ घण्टा ३३ मिनेट ४५ सेकेन्ड, देवराज महतरा २ घण्टा ३९ मिनेट २ सेकेन्ड, प्रताप थामसुहाङ २ घण्टा ५९ मिनेट २५ सेकेन्ड र हिम गिरी ३ घण्टा २ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः चौथोदेखि सातौं भएका छन् ।बोगटीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । द्वितीय भएका रावलले ५० हजार, तृतीय भएका विष्टले २५ हजार, चौथो भएका खड्काले १५ हजार, पाँचौं भएका महतराले १० हजार, छैठौं भएका प्रतापले ८ हजार र सातौं भएका गिरीले ६ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले बाजी मारेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले पहिलो स्थान हात पारेकी हुन् । सागकी स्वर्ण विजेता श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन् । ५ र १० किलोमिटर दौडिने सन्तोषीले अनुभवका लागि लामो दौड्मा प्रथम भएको प्रतिक्रिया दिइन् ।

एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन् । हाफ म्याराथनमा बिन्दु हमाल तृतीय, सरस्वती बोहरा चौथो, साधना शाही पाँचौं, कल्पना थारु छैठौं र चन्द्रमाया रावत सातौं भएका छन् ।विजेता श्रेष्ठले ५१ हजार रुपैयाँ पाइन् । द्वितीय भएकी भण्डारीले २५ हजार, तृतीय भएका हमालले १५ हजार, चौथो भएका बोहराले १० हजार, पाँचौं भएका शाहीले ८ हजार, छैठौं भएका थारूले सात हजार र सातौं भएका रावतले ६ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।