ग्राहकले म्यानेजरको मुखमा सुप छ्यापिन्


ह्युस्टन, (एजेन्सी)  । 

अमेरिकामा आफ्नो अनुहारमा रिसाएका ग्राहकले सुप छ्यापेको भन्दै एकजना रेस्टुरेन्टका म्यानेजरले बनाएको टिकटक भिडियो भाइरल भएको छ । यो घटना रेस्टुरेन्टको सर्भेलियन्स भिडियोमा पनि कैद भएको छ । यो घटना नोभेम्बर ७ को अपराह्न टेक्सासको टेम्पलस्थित सोल डी जालिस्कोमा घटेको हो ।

प्रहरीले ती महिलाले शुरूमा आफूले अर्डर गरेको सुपकोबारे गुनासो गर्न रेस्टुरेन्टमा फोन गरेको एनबिसिसँग आवद्ध केसीईएन टेलिभिजन बताएको छ । प्रहरीका अनुसार तिनले सुप निकै तातो भएको जसले गर्दा बिर्कोसमेत पग्लिएको गुनासो गरेकी थिइन् । आक्रमणको शिकार भएकी म्यानेजर ज्यान्नेल ब्रोल्यान्डले फोन गरेर ती महिलाले आफूलाई सरापेको र आफूले उनलाइ क्षतिपूर्तिस्वरूप निशुल्क खानाको व्यवस्था गर्ने बताएको टिकटकमा उल्लेख गरेकी छन् ।

तर, ब्रोल्यान्डले उनी चिच्याउन र अश्लील शब्दमा गाली गर्नमै मात्र व्यस्त देखिएको बताइन् ।पछि तिनी रेस्टुरेन्टमै आएर पुन ब्रोल्यान्डसँग झगडा गर्न थालिन् । उनले क्षतिपूर्ति स्वीकार्ने त नामै लिइनन् । त्यसपछि रेस्टुरेन्टबाट तुरुन्तै नगए प्रहरी डाक्ने चेतावनी दिइएपछि ती महिलाले बेस्सरी रिसाउँदै टेबुलमा राखिएको सुप आफ्नो मुखमा छ्यापेको ब्रोल्यान्डले बताएकी छन् ।घटना सम्झिँदै ब्रोल्यान्ड बताउँछिन् – ‘भगवानको कृपाले त्यतिबेला सुप त्यति तातो थिएन ।

तर, सुपमा राखिएको मसलाको कारण मेरा आँखा पोल्न थाले , नाकबाट रगत बग्यो । मेरो ६ वर्ष लामो रेस्टुरेन्ट व्यवसायको अनुभवमा त्यस्तो अप्रिय घटना पहिले कहिल्यै घटेको थिएन । मैले उनी विरुद्ध दिएको रिपोर्टमाथि प्रहरीले कारवाही गर्न बाँकी नै छ । तर, ती महिलाको परिचय सार्वजनिक भएपछि पनि उनीमाथि कुनै दुव्र्यवहार नगर्न आफ्नो फलोहरहरूलाई अनुरोध गर्दछु ।’
अहिले प्रहरीले ती महिलालाई कुनै पनि रेस्टुरेन्ट जानबाट भने बन्देज गरेको छ ।