एमसीसीसम्बन्धी निर्णय नेपालले छिट्टै लिओस् : सहायक विदेशमन्त्री लु


सरस्वती कर्माचार्य, काठमाडौं ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनासम्बन्धी निर्णय नेपालले छिट्टै लिओस् भन्ने चाहना व्यक्त गर्नुभएको छ । कमलादीस्थित अमेरिकी राजदूत -यान्डी बेरीको निवासमा संचारकर्मीहरुसँग कुरा गर्दै सहायक मन्त्री लुले एमसीसी परियोजना कार्यान्वयन गर्ने कि नगर्ने भन्ने निर्णयको पर्खाइमा परियोजना नै खेर नजाओस् भन्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘समयमै एमसीसी परियोजना कार्यान्वयन गर्न सकिए नेपालको विकासका साथै नेपालीको जीवनस्तर अभिबृद्धिमा टेवा पुग्ने थियो । यदि नेपाललाई नचाहिने हो भने पनि समयमै निर्णय गरे यो परियोजना अर्को देशले पाउने थियो ।’

उहाँले समाचारमा आएजस्तो एमसीसी संसदबाट पारित गर्न आगामी डिसेम्बर १४ सम्मको कुनै समयसीमा नतोकिएको स्पष्ट पार्दै भन्नुभयो, ‘नेपालको लागि कुनै समयसीमा तोकिएको छैन । मैले प्रत्येक ३–३ महिनामा बस्ने एमसीसी बोर्डको बैठक आगामी डिसेम्बर १४ मा बस्दैछ मात्र भनेको हुँ ।’

अमेरिकी सहायक विदेशमन्त्री लुले एमसीसी परियोजनाले नेपाल र नेपालीको हित हुने अमेरिकाको र आफ्नो व्यक्तिगत धारणा समेत रहेको जिकिर गर्दै एमसीसीबारे नेपालमा गलत सूचना फैंलिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

लोकतन्त्रको मापदण्ड पूरा गरेका र खुला अर्थतन्त्र भएका थोरै देशले मात्र अमेरिकाको एमसीसी अनुदान प्राप्त गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘एमसीसी हाम्रो चाहनाले नभई नेपालले नै मागेकोले दिइएको हो । अब यसलाई कार्यान्वयन गर्ने वा नगर्ने भन्ने निर्णय सार्वभौम राष्ट्र नेपाल, यहाँको संसद र नेपाली जनताले आफैं गर्ने हो । निर्णय जेसुकै भए पनि हामीलाई मान्य छ ।’

तीन दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायतसँग भेट गरेका लुले सबैजना एमसीसीप्रति सकारात्मक पाइएको बताउनुभयो ।

यद्यपी एमसीसी परियोजना कार्यान्वयन गर्नेसम्बन्धमा भने कसैले पनि स्पष्ट रुपमा भन्न नसकेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘सबै नेताहरुले लोकतन्त्रमा आफू एक्लैले निर्णय लिन नसक्ने, अन्य दल, संसद तथा नेपाली जनतासँग छलफल गरेर मात्रै निर्णय लिनसक्ने बताउनुभयो । अनि मैले भनें, ठीक छ, लोकतान्त्रिक र समावेशी ढंगबाट सबैसँग छलफल गरेर निर्णय गर्नुहोस् । यदि कार्यान्वयन गर्ने हो भने पनि हामी तयार छौं, होइन हामी यसमा अघि बढ्न सक्दैनौ भने पनि हाम्रो कुनै गुनासो छैन ।’

‘नेपालका नेता प्रभावशाली तर राजनीति बुझ्न गाह्रो’

एक प्रश्नको उत्तरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले हाँस्दै भन्नुभयो, ‘नेपाल एकदमै सुन्दर देश हो । यहाँका मानिस एकदमै राम्रा छन् । मैले धेरै पटक नेपाल घुमेको छु ।

मलाई यहाँका प्राकृतिक सुन्दरता, इतिहास, कलासँस्कृतिलगायत सबै विषयमा रुची छ, धेरैथोरै जानकारी पनि छ । यहाँका नेताहरु पनि साह्रै प्रभावशाली लाग्यो । तर नेपालको राजनीति भने मैले कहिल्यै बुझ्न सकिनँ, साहै भ्रमित खालको ।’

भ्रमणमा सहायक विदेशमन्त्री लुसँगै रहेकी उपसहायक विदेशमन्त्री केली केडरलिङले नेपालमा आर्थिक विकासका थुप्रै सम्भावनाहरु रहेको र क्आफूहरु त्यसको हिस्सेदार बन्न चाहेको बताउनुभयो ।

उहाँले लोकतन्त्रमा सबैलाई समेटेर अघि बढ्नुपर्ने भएकोले अरु विषयमा जस्तै एमसीसीबारे निर्णय लिन पनि केहि ढिला हुनु स्वभाविक भएको धारणा राख्नुभयो ।