महिलाहरूद्वारा लुगा फुकाली जाँच गर्न लगाइएकोमा क्षतिपूर्ति माग


सिड्नी, (एजेन्सी)  । 

दोहा विमानस्थलमा आफूहरूलाई लुगा फुकाल्न लगाएर जाँच गरेकोमा अस्ट्रेलियाली महिलाहरूको एक समूहले कतारस्थित स्थानीय प्रशासनसँग क्षतिपूर्तिको माग गरिरहेका छन् ।

सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा फोहर फाल्ने भाँडोमा एक नवजात शिशु भेटिएपछि ती सबै महिलालाई विमानबाहिर लगेर तिनीहरूमध्ये कसले बच्चा जन्माएको हो भन्ने पत्ता लगाउन नांगै पारेर तिनीहरूको शरीर जाँचिएको थियो । तिनीहरूले त्यस घटनालाई राज्यस्तरमै भएको उत्पीडन बताउँदै कडा आक्रोश व्यक्त गरेका थिए । सो घटनापछि कतारले क्षमायाचना गर्नुका साथै विमानस्थलका एक कर्मचारीलाई निलम्बन गरी जेल चलानसमेत गरेको थियो ।

तर, ती महिलाहरूले त्यसपछि उक्त अमानवीय र अप्रिय घटनाप्रति बेवास्ता गरिँदै आएको गुनासो गरेका छन् । तिनीहरूलाई कतार एयरवेजको विमानबाट सशस्त्र गार्डहरूले ओरालेका थिए । त्यसपछि धावनमार्गमै रहेको एउटा एम्बुलेन्सभित्र लगेर नर्सहरूलाई तिनीहरूको शरीर जाँच्न लगाइएको थियो ।तिनीहरूले आफूहरूलाई त्यसो गराउन सहमति नजनाएको तथा त्यतिबेला खास के भइरहेको हो भन्नेबारे आफूहरूलाई कुनै जानकारी पनि नदिइएको बताएका छन् ।

आफ्नो नाम नबताउने शर्तमा एक पीडित महिलाले बीबीसीलाई बताएकी छन्– ‘त्यसरी थुप्रै बन्दुकधारी पुरुषहरूले अचानक विमान बाहिर लगएपछि म अत्यन्तै त्रसित भएं ।मलाई त तिनीहरूले मलाई वा विमानभित्रै रहेका मेरा पतिलाई त मार्न लागेको होइन जस्तो लागेको थियो ।’
विमान अस्ट्रेलियामा अवतरण हुनासाथ तिनीहरूले आफूमाथि भएको दुव्र्यवहार सावर्जनिक गरेपछि विश्वका थुप्रै मुलुकले त्यस घटनाको भत्सर्ना गरेका थिए ।कतारका तत्कालीन प्रधानमन्त्री खालिद विन खालिफा विन अब्दुलाजिज अल थानीले ट्विटरमार्फत सो घटनाको सम्बन्धमा क्षमा माग्दै सो कार्य कतारको कानुन र सामाजिक मूल्य र मान्यतासँग मेल नखाने प्रतिक्रिया दिएका थिए ।