उद्घाटन सत्रका लागि नारायणीकिनार सजाइँदै

एमालेको १०औं महाधिवेशन


नेपाल समाचारपत्र, काठमाडौं  । 

नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं महाधिवेशनस्थल चितवनको नारायणीकिनारामा मञ्च व्यवस्थानको काम तीव्र गतिमा अगाडि बढेको सँगै उद्घाटन सत्रमा सहभागी हुने ५ लाख नेता–कार्यकर्ताको व्यवस्थापन गर्ने काम पनि अगाडि बढेको छ ।

महाधिवेशन प्रतिनिधि चयनको काम करिब करिब सम्पन्न भएसँगै मञ्च बनाउने कामलाई अगाडि बढाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार प्रतिनिधि र पाहुना राख्नका लागि होटल बुकिङ गर्ने काम सकेर अब मञ्च बनाउने कार्यलाई तीव्रता दिइएको छ ।पार्टीको महाधिवेशनको मञ्च व्यवस्थापन गर्दै आएका केन्द्रीय सदस्य विनोद श्रेष्ठले ५ लाख कार्यकर्ता अटाउने गरी नारायणीकिनारामा १ सय अतिथि अट्ने गरी आधुनिक मञ्च व्यवस्थापनको काममा लागेको बताउनुभयो । उहाँका अनुसार चार खण्ड गरेर १६ फिट अग्लो मञ्च बनाउने काम अगाडि बढेको छ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने गरी डिजाइन गरिएको श्रेष्ठले बताउनुभयो ।

मञ्च व्यवस्थापन समितिले तयार गर्न लागेको मञ्चमा एकपटकमा ७२ जना कलाकारले प्रस्तुति दिन सक्ने बताइएको छ । नारायणी नदीको पुलबाट र गैंडाकोटतर्फको नदीकिनारबाट समेत हेर्न मिल्ने गरी मञ्चको ढाँचा तयार गरिने बताउँदै श्रेष्ठले उद्घाटन सत्रमा कार्यक्रमस्थलसहित विभिन्न स्थानमा गरी २० ठाउँमा डिस्प्ले राखिने जानकारी दिनुभयो । समितिले बिहीबारबाट कार्यक्रमस्थलमा भएका खाल्डाखुल्डी पुर्ने र व्यवस्थापनको काम अगाडि बढाएको छ ।

श्रेष्ठका अनुसार मञ्च व्यवस्थापनका लागि ५ सय स्वयंसेवक परिचालन गरिएको छ भने मञ्च व्यवस्थापनको क्रममा ठाउँ–ठाउँमा सेल्फी प्वाइन्ट बनाइनेछ । एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । नारायणी नदीकिनारमा उद्घाटन र सौराहामा हुने बन्द सत्रमा एमालेका १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् ।महाधिवेशन स्थलमा मञ्च बनाउने प्रक्रिया तीव्र भएसँगै पार्टीभित्र आगामी नेतृत्वका लागि दौडधुप शुरु भएको छ । एमालेभित्र यसपटक अध्यक्ष ओलीलाई चुनौती दिने अन्य नेता नभएका कारण अध्यक्षमा उहाँ नै अध्यक्ष बन्ने निश्चित छ ।

तर, सर्वसम्मत अध्यक्ष चयन हुने कि निर्वाचनबाट भन्ने विषयको छिनोफानो अझै हुन सकिरहेको छैन । अध्यक्ष ओलीलाई चुनौती दिने गरी अहिलेसम्म पार्टीभित्र एक जना नेताले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छैनन् । ओलीलाई सर्वसम्मत अध्यक्ष हुन नदिन उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालमध्ये एक जनाले अध्यक्षमा उम्देवारी दिने सम्भावना रहेको छ । एमालेभित्र पूर्वमाओवादीबाट आएको समूह र १० बुँदे सहमति पक्षधर नेताहरूले सहमतिबाटै नेतृत्व चयन हुनुपर्ने माग नेतृत्वसमक्ष राख्दै आएका छन् ।

यसैबीच एमालेका उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने विषयमा गृहकार्य गरिरहेको बताउनुभएको छ । उहाँले पार्टीका नेताहरूसँग परामर्श गरिरहेको बताउँदै केही दिनभित्र उम्मेदवारी दिने वा नदिने विषय सार्वजनिक गर्ने बताउनुभयो । रावलले नेपाल समाचारत्रपसँग भन्नुभयो– ‘अध्यक्षमा उम्मेदवारी दिने विषयमा कुराकानी भइरहेको छ, पार्टीभित्र नेताहरूसँग परामर्श गरेर निर्णय लिन्छु ।’रावलले प्रतिनिधि चयनको प्रक्रिया विधिसम्मत नभएको टिप्पणी गर्दै विधिविपरीत काम भएकाले कैलालीमा समानान्तर प्रतिनिधि चयन गरिएको जानकारी दिनुभयो ।