काठमाडौँ–बैङकक हवाई उडान पुनः सुचारु हुने


विमल विष्ट, काठमाडौँ । 

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफ बिच आज बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनु भएको हो ।राजदूतसँगको भेटवार्तापछि अब केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान हुने भएको छ ।

भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनीक्षेत्रमा थाईल्याण्डसरकारले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नु हुँदै लुम्बिनीमा रहेको मेटरनेटी हस्पिटलका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।

यसै गरी मन्त्री आलेले नेपाली नागरिकलाई थाईल्याण्डको भिसाका लागि सहजिकरण गर्न तथा नेपाली नागरिकहरू उपचारका लागि बैङ्कक जाँदा सहुलियत पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गर्नु भएको थियो । भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल थाईल्याण्डको पुरानो एैतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप मज्बुद बनाइराख्न दुबै देशका तर्फबाट अधिकतम प्रयास गरिनु पर्ने कुरामा जोड दिनुभयो ।

भेटका क्रममा राजदूत भोरासफले लुम्बिनीको बृद्धि विकासका लागि आफ्ना तर्फबाट अधिकतम प्रयास गर्ने बताउनु भयो । यसै गरी राजदूत भोरासफले नेपाल सरकारले गरेको सहयोग प्रति धन्यवाद प्रकट गर्नुभयो । उक्त भेटवार्तामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी रहेका थिए ।