कपिलवस्तु प्रहरीले २० वर्ष सम्मका पुराना ४८६ फरार अभियुक्त पक्राउ


यमलाल भुसाल, बुटवल ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ५ वर्ष भन्दा पुराना फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियान सञ्चालन गरेको छ  । जस अन्तर्गत २० वर्ष देखि फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।

साउन यताको चार महिनामा फरार ४८६ जना  अभियुक्त पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमध्ये २० वर्षपछि पक्राउ पर्नेमा ३५ जना, १५ वर्षपछि पक्राउ पर्नेमा ३६ जना, १० वर्षपछि पक्राउ पर्नेमा १४० जना र पाँच वर्षपछि पक्राउ पर्नेमा १५८ जना रहेका छन् ।कर्तव्य ज्यान, लागू औषध, लुटपाट, कुटपिट, बाउन्स चेक, सवारी ज्यान, जुवाजस्ता कसुरमा फरार अभियुक्त पक्राउ गर्न कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले फ्युगिटी एभरेस्ट प्रोग्राम ९फ्याप० कार्यक्रम नै सञ्चालन गर्नु भएको छ ।

गत आवको पहिलो चार महिनामा ८१ जना फरार अभियुक्त पक्राउ परेका थिए त्यस्तै, पाँच वर्षभन्दा कम अवधिदेखि फरार रहेका ११७ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा हत्या गरी अदालतबाट २० जन्मकैद सजाय पाएर फरार रहेका समेत छन् । अपराध गरेर समाजलाई दूषित पारेर विभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन । अपराध गर्ने एक दिन अवश्य कानुनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीव्रता दिएका हौँ, जिल्ला प्रहरी प्रमुख कार्कीले भन्नु भयो ।

कपिलवस्तु प्रहरीले मुद्दा फर्स्यौटलाई पनि प्राथमिकता दिएको छ । असोजमा ४४ मा २१ र कात्तिकमा ६६ मा ३३ मुद्दा फर्स्यौट गरेको छ ।  चालु आवको चार महिनामा पाँच करोड ३१ लाख ४० हजार ७७२ रुपैयाँ राजश्व संकलन भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।