‘कोराला नाकामा तीन वर्षभित्रै भौतिक पुर्वाधार बन्छ’


दुर्गाप्रसाद शर्मा, पर्वत । 

तिब्बतसँग सीमा नाका जोडिएको मुस्ताङको कोराला नाकामा भौतिक पूर्वाधार निर्माणको काम चाँडै शुरू हुने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभएको छ ।

कोराला नाका र उत्तर–दक्षिण कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोराला सडकको अनुगमनका लागि मुस्ताङ पुग्नु भएका अध्यक्ष तिमिल्सिनाले प्राकृतिक प्रकोपलगायतका कुनै अवरोध नआएमा तीन वर्षभित्रमै कोराला नाकामा भौतिक पूर्वाधार तयार हुने बताउनुभएको हो ।अध्यक्ष तिमिल्सिनाले तीन वर्षमा राष्ट्रिय गौरवको कोराला सडक पूरा हुने र त्यस समयभित्रै नाकामा भन्सारलगायतका संरचना तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले कोराला नाकामा भन्सार, क्वारेन्टाइन, सुख्खा बन्दरगाह र सुरक्षा चेक पोस्टलगायतको पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्षभित्रै वातावरणीय अध्ययन प्रतिवेदन र बिस्तृत परियोजना प्रतिवेदनको काम पूरा हुने बताउनुभयो । ‘चालू वर्ष दुवै प्रतिवेदन तयार गर्ने काम पूरा गरी अर्को वर्ष भन्सार लगायतको पूर्वाधार निर्माण गर्न ठेक्का सम्झौताको प्रक्रिया अघि बढ्छ।’ उहाँले भन्नुभयो–‘प्राकृतिक विपद् र टेन्डर भई काम ढिलो हुने रोगलाई मुक्त गर्न सकिएमा ३ वर्षभित्रै कोराला नाकामा भन्सारलगायतको पूर्वाधारको काम सकिन्छ।’ उहाँले काम छिटो बढाउनका लागि आफूले भन्सार विभाग तथा सम्बन्धित अधिकारीहरुसँग कुराकानी गरिसकेको जानकारी दिनुभयो ।

बेनी-जोमसोम-कोरला सडक निर्माणमा ढिलासुस्ती भएको कुरा आएको र यसलाई तिव्र गति दिनुपर्नेमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले कोराला सडकअन्तर्गत बेनी-जोमसोमको कालोपत्रे चाँडै सक्नुपर्ने र ढिलासुस्ती भएको खण्डलाई गति दिन सरकारको ध्यान केन्द्रित गर्न निर्देशन पनि दिनुभयो । व्यवस्थित बस्ती र म्याग्दीको कमजोर भू–बनोटका कारण निर्माणाधीन बेनी–जोमसोम ७६ किलोमिटर सडकको म्याग्दी खण्डमा बर्खायामको मौसममा सडक स्तरोन्नतिमा समस्या देखिएको बताउनुभयो । उहा“ले म्याग्दीका कतिपय ठाउ“मा सुरुङमार्गको आवश्यकता पनि औंल्याउनुभयो ।