विद्युतीय राहदानीको लागि बुकिङ खुला : पहिलो विद्युतीय राहदानी शताब्दी पुरुष सत्यमोहन जोशीलाई


सरस्वती कर्माचार्य, काठमाडौं ।

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो साधारण विद्युतीय राहदानी प्रदान गरी विद्युतीय राहदानी अर्थात ई–पासपोर्टको औपचारिक सुरुवात गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयमा बुधबार आयोजित पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले शताब्दी पुरुष जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्नुभएको हो ।

जोशीले विद्युतीय राहदानी पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै यो नयाँ प्रविधीयुक्त राहदानीले संसारको कुनै पनि कुनामा पुगेका नेपालीलाई गौरब महशुस हुने धारणा ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘विदेशमा भेट भएका नेवार, बाहुन, गुरुङ, मगरले आआफ्नो राहदानी देखाउँदा यसमा समेटिएको राष्ट्रिय पहिचानका कारण ‘ए हामी त नेपाली पो हौं त’ भन्नेछन् । त्यहाँ जातपात र भेदभावको कुनै गुन्जायस नरहने भएकोले राष्ट्रिय भावना जगाउनेछ ।’

कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले विकसित तथा धनी मुलुकले विद्युतीय राहदानी प्रयोग गरिरहेको बेलामा नेपालको मेसिन रिडेबल पासपोर्ट देखाउनुपर्दा असहज महशुस गर्नुपर्ने अवस्था रहेकोमा यो तेस्रो जेनेरेशनको विद्युतीय राहदानीले अब त्यस्तो अवस्थाको अन्त्य गर्ने बताउनुभयो । उहाँले विदेशमा राहदानीकै कारणले झेल्नुपर्ने विभेदलाई अब यो विद्युतीय राहदानीले अन्त्य गरी समान व्यवहार दिलाउने बताउनुभयो ।

कार्यक्रममा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले यो राहदानीलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको जानकारी दिनुभयो । उहाँले विद्युतीय राहदानीका लागि बुधबारबाटै अनलाईन बुकिङ खुला गरिएको जानकारी दिंदै केहि दिनपछि नै त्रिपुरेश्वरस्थित राहदानी विभागबाट विद्युतीय राहदानी वितरण गरिने बताउनुभयो ।

उहाँले हाललाई सिमित संख्यामा मात्र वितरण गरी प्राविधिक समस्याहरू देखिए समाधान गरी एक महिनाभित्रै पूर्ण क्षमतामा वितरण गरिने बताउनुभयो । उहाँका अनुसार विभागसँग प्रति घण्टा १ हजार प्रति राहदानी उत्पादन गर्ने क्षमता रहेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले अहिलेसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) हटाउनेसम्बन्धमा कुनै सूचना ननिकालेको उल्लेख गर्दै महानिर्देशक अर्यालले हतारिएर विद्युतीय राहदानी बनाउन आवश्यक नभएको र आफूसँगै भएको एमआरपी नै प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

राहदानी विभागले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीआईएमआईए आइडेन्टी एण्ड सेक्युरिटीसँग दुई अर्ब ४८ करोड रुपैयाँमा विद्युतीय राहदानी छपाइको लागि खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले १० महिनाभित्रै विद्युतीय राहदानीको वितरणको काम सकेको हो ।

आईकाओले सुरक्षित भनेर परिभाषित गरेको ई–पासपोर्ट एमआरपीभन्दा गुणस्तरिय र भरपर्दो हुनुका साथै उच्च प्रविधिको प्रयोगका कारण अन्तर्राष्ट्रिय जगतमै विश्वासिलो पनि मानिएको छ । यसमा मोबाइलको सिम जस्तै सानो विद्युतीय चिपको प्रयोग हुन्छ ।

यसमा व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्यांक पनि राखिएको हुन्छ, जसले गर्दा कम्प्युटरले सजिलै रिड गर्नसक्छ ।बायोमेट्रिक तथ्यांकका कारण राहदानीको दुरुपयोग हुने समस्याको समाधान हुने विश्वास गरिएको छ ।

यसको ‘सेक्युरिटी फिचर’ पनि कडा हुने गर्दछ । कार्यक्रममा विभागले छोटो अवधिका लागि चाहिनेका लागि  ३४ पृष्ठको र पटकपटक विदेश जानुपर्नेका लागि ६६ पृष्ठको राहदानी जारी गरिने जानकारी दिइएको थियो ।

तस्बिर : उजोल डंगोल