संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आले डोटी जाने

0
Shares

विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले बुधवार बिहान डोटी जाने कार्यक्रम तय भएको छ । जिल्लाको सबै भन्दा ठूलो तथा पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा हुने ठूला केदारको पूजामा सहभागी हुन मन्त्री त्यहाँ जान लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

मन्त्री आले हेलिकप्टर मार्फत बुधवार दिउँसो १२ बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको उहाँका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । साथै मन्त्री आलेले त्यहाँ रहेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग पनि बडिकेदारको थप प्रचार प्रसार तथा विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदारमा हरेक वर्ष तिहार पछिको चतुर्दशी तिथिमा पूजाआजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ ।

मूर्ति रहेको स्थान भौगोलिक रूपमा बिकट अर्थात् भिरको बिचमा रहेको छ । अन्य देवी देवताको मन्दिरमा भन्दा बडिकेदारमा विभिन्न जातजाति भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्राय जसो सन्तान प्राप्त नभएका अधिकांश महिला पुरुषहरू पुत्र लाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन् ।

उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तिर्थालु भक्तजनहरू आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।