बहिनी करणी गर्ने दाजुलाई १९ वर्ष कैद

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले हाडनाता भित्र जर्बजस्ति करणी अभियोगमा थुनामा रहेका युवकको कसुर ठहर गरेको ७ दिन पछि सजाएँ निर्धारण गरेको छ । बालिका जर्बजस्ति करणी अभियोगमा १८ वर्ष र हाडनाता भित्र भएकाले थप एक वर्ष गरी १९ वर्ष सजाय हुने फैसला गरेको हो ।

आफ्नै बहिनीलाई युवकले जर्बजस्ति करणी गरेको कसुर ठहर भएकाले प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले कार्तिक ३० गते मंगलबार १० वर्ष वा दश वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भएकाले १८ वर्ष देखि २० वर्षसम्म सजाएँ हुने व्यवस्था अनुसार १८ वर्ष र हाडनाता करणीमा एक वर्ष देखि ३ वर्षसम्म कैद र १० हजार देखि ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था अन्तर्गत थप एक वर्ष सजाय र १० हजार जरिवाना गर्ने फैसला सुनाएको हो ।

बालिकाको उमेर ११ वर्ष छ । बालिकालाई जर्बजस्ति करणी गरेको अभियोगमा जेल परेका युवकले क्षतिपूर्ति बापत १ लाख रुपैयाँ उपलब्ध गराउने र पीडित राहत कोषमा थप २२ सय जम्मा गर्ने फैसला भएको जिल्ला अदालत काभ्रेपलाञ्चोककी सूचना अधिकारी अप्सरा चापागाईँले जानकारी दिनु भयो ।

थुनामा राखेका युवकलाई निर्दोष साबित गर्न नेपाल बनेपा पोलिटेक्निक विद्यालयका केही कर्मचारीहरू, राजनीतिक दलका नेताहरू र अन्य केही स्वार्थ समूह सक्रिय थियो । अदालतले पटक पटक पेशी र आदेश हुँदै आएको उक्त मुद्दा डेढ वर्ष पछि फैसला सुनाएको हो ।

बनेपा नगरपालिका वडा नम्बर ४ स्थित उग्रचण्डी नाला घर भएका २१ वर्षीय युवकले ११ वर्षिया बहिनीलाई टिभी हेर्ने बहानामा पटक पटक जर्बजस्ति करणी गर्दै आएका थिए । श्रेस्तेदार उपसचिव गोविन्दप्रसाद घिमिरेले यस अघि उक्त मुद्दामा कसुर ठहर भएकाले मंगलबार सजाएँ निर्धारण गरिएको बताउनु भयो ।

पीडितको पक्षबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद पोखरेल र सहायक न्यायाधिबक्ता सुदिप शाक्यले बहस गर्नु भएको थियो । पीडित बालिकाको बकपत्र, जाहेरी तथा तथ्य र प्रमाणका आधारमा युवकले जर्बजस्ति करणी गरेको पर्याप्त आधार भएकाले दोषीलाई हदैसम्मको कारबाहीको माग गरिएको थियो ।

जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद पोखरेलले अदालतले पीडित बालिकालाई न्याय दिएको प्रतिक्रिया दिनु भयो । बालिकाका अभिभावकले २०७६ चैत्र ३ गते ईलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दर्ता गराएका थिए । सोही दिन युवक पक्राउ परेका थिए । २०७६ साल चैत्र २८ गते सरकारी वकिलको कार्यालयका सहायक जिल्ला महान्यायाधिवक्ता कपिल रोक्काले सोही मुद्दा जिल्ला अदालतमा पेश गर्नु भएको थियो ।

अभियोगमा करणी सम्बन्धी कसुर (हाडनातामा जर्बजस्ति करणी) अभियोगमा हाडनाता, जर्बजस्ति करणीमा कारबाहीको माग गरिएको थियो । सरकारी वकिलको कार्यालय र जिल्ला महान्यायाधिवक्ता चन्द्रप्रसाद पोखरेल, सहायक जिल्ला न्यायाधिबक्ताद्धय कपिल रोक्का र सुदिप शाक्यले मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) (२) र सोही संहिताको दफा २२० (१) (२) (घ) बमोजिमको कसुर गरेकाले सोही दफा सहित संहिताको दफा २१९(८) बमोजिम थप हुन माग दावी गर्नु भएको थियो ।