चिनी उद्योगले बद्मासी गरेपछि कृषकहरुको रोजाइ खाँडसारी


कृष्णउदास खनाल, वीरगन्ज । 

चिनी मिलबाट उखुको भुक्तानी पाउन झन्झट भएपछि किसानहरु खेती गरेको लागत भन्दा पनि कम मूल्यमै उखु , सक्खर उत्पादन गर्ने खाँडसारीलाई बिक्री गर्न बाध्य भएका छन् ।

पर्सा र बाराका किसानले उत्पादन गर्दै आएको उखु , बाराको मनहर्वामा रहेको रिलायन्स चिनी मिलले खरिद गर्दै आएको छ । तर चिनी मिलले हरेक वर्ष उखुको भुक्तानी दिन झन्झट गर्दै आएका कारणले आजित बनेका किसानहरुले लागत लागेको भन्दा पनि कम मुल्यमै खाँडसारी अर्थात् मिठा उद्योगलाई उखु बिक्री गर्न बाध्य भएका हुन् । चिनी मिलहरूले नगदे बाली भनिएको उखुको बक्यौता राख्न थालेपछि किसानले विकल्पका रुपमा गाँउघरका खाँडसारी उद्योगलाई रोज्न थालेका हुन् ।

सरकारले तीन वर्षदेखि उखुको प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा मूल्य तोक्दै आएको छ ।तर खाँडसारी उद्योगले भने प्रति क्विन्टल ३ सय ५० देखि ४ सय रुपैयाँ सम्ममा मात्रै उखु खरिद गरिरहेको पर्सा र बाराका किसानहरुले बताएका छन् । अहिले दलहन र तेलहन जस्ता हिउँदे बाली लगाउने बेला भइसकेका कारणले पनि खेतको उखु सस्तै भाउमा भएपनि खाँडसारी उद्योगलाई बेच्नु पर्ने बाध्यता रहेको किसानहरुको  भनाइ छ ।

चिनी उद्योगले वर्षौंदेखिको भुक्तानी बाँकी राख्ने गरेको तर खाँडसारी उद्योगमा बिक्री गरेको उखुको भुक्तानी तुरुन्तै पाउने भएका कारणले पनि सस्तै मुल्यमा खाँडसारी उद्योगलाई उखु बेच्नु परिरहेको जीराभवानी गाउँपालिकाको बलुवाका किसान हरिओम केवटले बताउनुभयो ।

चिनी उद्योगलाई उखु बेच्दा पैसा पाउनै १ वर्ष कुर्नु पर्ने भएपछि सस्तैमा भएपनि नगदै भुक्तानी लिन खाँडसारी उद्योगलाई उखु दिन बाध्य भएको गुनासो उहाँले गर्नुभयो । एक क्विन्टल उखुबाट १० किलो मिठा तयार हुने भएकाले मिठाको मूल्य अनुसार उखुको मूल्य तय गर्ने गरिएको खाँडसारी उद्योगका सञ्चालकहरुको भनाइ छ ।