कांग्रेस महाधिवेशन : केन्द्रीय प्रतिनिधिसँग ३ हजार र प्रदेश प्रतिनिधिसँग २ हजार शुल्क लिइने 


रामकृष्ण चापागाईँ, काठमाडौँ ।

अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौँ रुपैयाँ सङ्कलन गरिरहेको सत्ताधारी दल नेपाली काँग्रेसले मङ्सिर २४ देखि २६ सम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिहरूबाट मात्र करिब १ करोड ३५ लाख रुपैयाँ सङ्कलन गर्ने भएको छ ।

महाधिवेशनको लागि १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना प्रतिनिधि आउदैछन् । ७७ जिल्ला सभापति, केन्द्रीय समितिका सबै जना, भातृ एवं शुभेच्छुक संघ संस्थाबाट आउने प्रतिनिधि र विदेश स्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधि गरी महाधिवेशनमा करिब ४ हजार ५ सय जना प्रतिनिधिको नामावली दर्ता हुन्छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क बापत तीन हजार रुपैयाँ बुझाउनु पर्ने निर्णय गरेपछि थप १३ करोड रुपैयाँ सङ्कलन हुने भएको हो । अधिवेशनमा नेतृत्वमा दाबी गर्ने उम्मेदवार एकसे रुपैयाँ देखि ३० हजार रुपैयाँ सम्म शुल्क तोकेर करोडौँ रुपैयाँ उठाएको  काँग्रेसले प्रदेश अधिवेशन प्रतिनिधिले समेत नामावली दर्ता बापत दुई हजार रुपैयाँ बुझाउनु पर्ने भएको छ ।

प्रदेश अधिवेशनमा ५ हजार २ सय ८० भन्दा बढी प्रतिनिधि हुन्छन् । अधिवेशन प्रतिनिधिले नामावली दर्ता बापत २ हजार शुल्क बुझाउँदा प्रदेश अधिवेशनमा प्रतिनिधिबाट मात्र एक करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन हुने देखिएको छ ।
उम्मेदवारी दर्ताको सन्दर्भमा काँग्रेसको निर्वाचन निर्देशिका अनुसार वडा कार्यसमितिमा सदस्यको उमेद वारको लागि एकसे रुपैयाँ तोकेको छ भने केन्द्रीय सभापति उमेद वारको लागि ३० हजार रुपैयाँ शुल्क तोकेको छ ।

वडा सभापति उमेद वारको लागि ५ सय शुल्क तोकिएको छ भने  उपसभापति, सचिव र सहसचिवको लागि ३ सय शुल्क तोकेको छ । प्रदेश सभा क्षेत्रीय प्रतिनिधिको लागि ५ सय शुल्क छ भने वडा कार्यसमिति सदस्य उमेद वारको लागि १ सय रुपैयाँ शुल्क  तोकिएको छ ।

वडा कार्यसमितिमा मनोनीत बाहेक सभापति उपसभापति सचिव सहित कम्तीमा १५ जनाको कार्यसमिति निर्वाचित हुनेछ । १ सय ५० भन्दा कम क्रियाशील सदस्य भएको वडामा कम्तीमा ९ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । वडा कार्यसमिति निर्वाचनबाट मात्र काँग्रेसको करोडौँ रुपैयाँ सङ्कलन भएको छ ।

काँग्रेसको गाउँ/नगर पालिका अधिवेशन बाट पनि उमेद्वारबाट ठुलो धनराशि सङ्कलन भएको छ । गाउँपालिका कार्यसमिति निर्वाचनमा सभापतिको लागि २ हजार शुल्क तोकिएको छ भने उपसभापति, सचिव र सह सचिवको लागि १ हजार शुल्क तोकिएको छ । गाउँपालिका कार्यसमिति सदस्यको लागि ५ सय शुल्क तोकिएको छ ।

नगरपालिका कार्यसमितिमा अझ बढी रकम तोकिएको छ । निर्वाचन निर्देशिका अनुसार नगरपालिका कार्यसमिति सभापतिको लागि ४ हजार तोकिएको छ भने उपमहानगरपालिका, महानगरपालिकाको सभापतिको लागि ५ हजार तोकिएको छ । उपसभापति र सचिवको उमेदेवारको लागि नगरमा ३ हजार तोकिएको छ ।

सह सचिवको लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ भने कार्यसमिति सदस्यको लागि १ हजार रुपैयाँ तोकिएको छ । ७ सय ५३ स्थानीय तहमा हुने अधिवेशनबाट उम्मेदवारी दर्ता शुल्कबाट मात्र करोडौँ रुपैयाँ सङ्कलन  हुन्छ । गाउँ नगर कार्यसमितिमा पनि कम्तीमा १५ जना भन्दा बढी निर्वाचित हुन्छन् ।

काँग्रेसले प्रदेशसभा क्षेत्रीय कार्यसमिति अन्तर्गत सभापति पदको लागि ५ हजार, उपसभापति र सचिव पदको उमेद्वारलाई ३ हजार, सहसचिव पदको लागि २ हजार ५ सय र कार्यसमिति सदस्य पदको लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । कुल ३ सय ३० प्रदेशसभा क्षेत्रीय अधिवेशनमा पनि उमेद्वारबाट लाखौँ रुपैय सङ्कलन हुनेछ ।

प्रदेशमा सभापति, उपसभापति, दुई सचिव, दुई सहसचिव, एक कोषाध्यक्ष र प्रदेश अधिवेशन प्रतिनिधि १६ जना निर्वाचित हुनेछन् । साथै कुल सङ्ख्याको २० प्रतिशत मनोनीत हुनेछन् । प्रतिनिधिसभा क्षेत्रको अधिवेशनबाट पनि उमेद्वारहरुबाट उल्लेख्य रकम सङ्कलन हुने भएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा सभापतिको लागि ७ हजार रुपैयाँ शुल्क तोकिएको छ भने उपसभापति र सचिवको लागि ५ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरि सहसचिव पदको लागि ४ हजार र सदस्य पदको लागि २ हजार तोकिएको छ । अधिवेशनमा  १ सय ६५ निर्वाचन क्षेत्रमा ३ हजार भन्दा बढी उम्मेदवार हुनेछन् ।

काँग्रेसको जिल्ला अधिवेशनबाट पनि मनग्य आम्दानी हुने भएको छ । निर्वाचन निर्देशिका अनुसार जिल्ला सभापतिको उम्मेदवार लागि १० हजार शुल्क तोकिएको छ भने उपसभापति र सचिव पदको उमेद वारको लागि ७ हजार शुल्क तोकिएको छ । जिल्ला अधिवेशनमा सहसचिव पदको लागि ६ हजार र कार्यसमिति सदस्य पदको लागि ३ हजार शुलका निर्धारण गरिएको छ ।

जिल्लामा सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव एक कोषाध्यक्ष निर्वाचित गरिने व्यवस्था छ । साथै, कार्यसमिति सदस्यको लागि प्रत्येक गाउँपालिका बाट एक महिला सहित दुई जना, प्रत्येक नगरपालिका बाट एक महिला सहित ३ जना, उपमहानगरपालिका बाट  दुई महिला सहित ५ जना र महानगरपालिकाबाट ३ महिला सहित ७ जनाको प्रत्यक्ष  निर्वाचित गरिने व्यवस्था छ ।

काँग्रेसले प्रदेश कार्यसमिति निर्वाचनको लागि पनि उम्मेदवारी दर्तामा चर्को शुल्क राखेको छ । प्रदेश कार्यसमिति सभापतिको उम्मेदवार लागि १५ हजार रुपैयाँ राखिएको छ भने उपसभापति, महामन्त्री र सह महामन्त्रीको लागि ११ हजार रुपैयाँ राखिएको छ ।

प्रदेश कार्यसमिति सदस्यको उम्मेदवार ५ हजार रुपैयाँ बुझाउनु पर्ने निर्वाचन समितिले जनाएको छ । मङ्सिर २४ देखि २६ सम्म महाधिवेशन गर्न लागेको काँग्रेसले केन्द्रीय सभापति उमेद वारको लागि ३० हजार रुपैयाँ तोकिएको छ । उपसभापति र महामन्त्री पदको उम्मेदवारका लागि २५ हजार तोकिएको छ भने सह महामन्त्री पदको लागि २० हजार रुपैयाँ तोकिएको छ । यो अधिवेशनमा उपसभापति दुई र महामन्त्री दुई निर्वाचित हुनेछन् भने ८ जना सह महामन्त्री निर्वाचित हुनेछ ।

केन्द्रीय सदस्य पदको लागि १० हजार शुल्क तोकिएको छ । केन्द्रीय कार्यसमिति सदस्यको उम्मेदवार लागि  १० हजार शुल्क राखिएको छ । १४औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा विभिन्न क्षेत्रबाट १ सय २१ जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।

निर्वाचन समितिले प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवार लागि ३ हजार शुल्क तोकेको छ भने महासमिति सदस्य उम्मेदवार लागि ७ हजार रुपैयाँ तोकेको छ । महासमिति केन्द्रीय समिति भन्दा माथिल्लो निकाय हो । महाधिवेशन प्रतिनिधि उमेद वारको लागि ५ हजार रुपैयाँ तोकिएको छ ।

महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिका उम्मेदवार बाट मात्र काँग्रेसले ५ करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन गर्ने अनुमान गरिएको छ ।