गोरखा र नुवाकोटका ५० हजार घरहरूको पुनर्निर्माण सम्पन्न 


न्युज अफ नेपाल, काठमाडौं ।

वि.सं. २०७२ सालको भूकम्पले ध्वस्त बनेको गोरखा र नुवाकोट जिल्लाका ५० हजार घरहरूको पुनर्निर्माण सम्पन्न भएको छ ।
भारतीय दूतावासले सोमबार राजधानीमा एउटा कार्यक्रमको आयोजना गरी गोरखा र नुवाकोटका ५० हजार निजी घरको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र परियोजना हेर्न खुलेको संयुक्त राष्ट्रसंघीय कार्यालय युएनओपीएससँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दूतावासका नियोग उपप्रमुख नामग्या सी. खम्पाले भारत सरकारले प्रतिबद्धता जनाएअनुरूप गोरखा र नुवाकोटका चार नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको जानकारी दिनुभएको हो ।

भूकम्पपछिको पुनर्निर्माण सहायता प्याकेजस्वरुप भारत सरकारले १५ करोड अमेरिकी डलरको प्रतिबद्धता व्यक्त गरेको थियो । १५ करोडमध्ये १० करोड अमेरिकी डलर अनुदानमा उपलब्ध गराइएको थियो भने ५ करोड अमेरिकी डलर चौथौँ लाइन अफ क्रेडिटअन्तर्गत ऋण उपलब्ध गराइएको थियो ।

भारतले भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्शका लागि सन् २०१८ मा यस पुनर्निर्माण परियोजनामा युएनडिपी र युएनओपिएसलाई संलग्न गराएको थियो । कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस परियोजनाले भूकम्प पीडितहरूलाई राहत प्रदान गर्नुका साथै ग्रामीण सबलीकरणमा समेत महत्त्वपूर्ण योगदान पु¥याएको धारणा राख्नुभयो ।

कार्यक्रममा गोरखाको पालुङटार नगरपालिकाका मेयर र नुवाकोटको विदुर नगरपालिकाका उपमेयरका साथै अन्य सहभागी वक्ताहरूले पुनर्निर्माण परियोजना सम्पन्न भैसकेको भएता पनि भूकम्पले थिलथिलो पारेको गोरखा र नुवाकोट अझै पनि यस्ता परियोजनाहरूको आवश्यकता रहेको धारणा अघि सारेका थिए ।

कार्यक्रममा परियोजनाबाट सिकेका पाठ, अनुभव र आगामी दिनमा के गर्ने भन्ने बारे कार्यशालाको पनि आयोजना गरिएको थियो । कार्यशालामा पुनर्निर्माणका उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिनुका साथै परियोजनाबाट सिकेका सिकाइ तथा अनुभवहरू साटासाट गरिएको थियो ।

भूकम्पबाट प्रभावित कूल ११ जिल्लामा शिक्षा क्षेत्रसँग सम्बन्धित ७१ वटा परियोजना, १ सय ३२ स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदा स्थलको पुनर्स्थापना तथा प्रबलीकरणका लागि भारत सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ ।