दुर्घटना न्यूनीकरणमा बागमती टिपर व्यवसायी संघको आक्रामक योजना

चालकलाई पुरस्कार, अपाङ्गता भएकालाई मासिक भत्ता

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

टिपरबाट हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि बागमती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकले चालक र सहचालकहरूका लागि नयाँ योजना सार्वजनिक गरेको छ । दुर्घटनामा चालक र सहचालकको लार्पवाहि हुन नदिन संघले सभ्य, अनुशासित भई सवारी साधन चलाउँदा दुर्घटना न्यूनीकरण गराउन सकिन्छ भन्ने सन्देश दिन प्याकेजका कार्यक्रम ल्याएको हो ।

पछिल्लो समय संघमा आबद्ध टिपरहरूबाट दुर्घटना न्यून भएको तथ्याङ्कले देखाएको छ । अध्यक्ष सुरेश खत्रीले निर्वाचित हुँदै गर्दा चालक र सहचालकहरूका लागि विशेष कार्यक्रम ल्याउने घोषणा गर्नु भएको थियो । सोही घोषणा अन्तर्गत बागमती टिपर व्यवसायी संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी दुर्घटना नगर्ने सघंको परिचयपत्र भएका र नवीकरण समेत भएका चालकहरुलाई गोला प्रथाबाट प्रत्येक तीन महिनामा आकर्षक पुरस्कार दिने घोषणा गरेको छ ।

त्यस्तै बागमती टिपर संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडीबाट भवितव्य दुर्घटना भई चालक तथा सहचालक र तेस्रो पक्ष व्यक्ति घाइते भई उपचार पश्चात् पनि अपाङ्गता (शारीरिक रूपमा अशक्त) भएर सहज जीवन यापनको लागि कुनै किसिमको कार्य गर्न नसक्ने अवस्था सिर्जना भएका अपाङ्ग व्यक्तिलाई राहत स्वरूप मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

२०७८ मसिंर महिना देखि लागु हुने गरी संघबाट उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय भएको अध्यक्ष सुरेश खत्रीले बताउनु भयो । समयअनुसार सुविधा परिमार्जन गर्न सक्ने गरी संघले सहजता अपनाएको छ । कार्यालय प्रमुख प्रकाश कायस्थका अनुसार उक्त सुविधाका लागि संघले आवश्यक योजना बनाएको छ ।

यस अघि बागमती टिपर व्यवसायी संघले संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी धनी सदस्यको कुनै कारणबाट अंग भंग तथा पक्षघात भएमा दुई लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय कार्यान्वयनमा ल्याएको थियो । मष्तिष्कघात, किड्नी, क्यान्सर जस्ता कुनै पनि रोगको लागि एक पटक मात्र उपचार खर्च दिइने संघले जानकारी दिएको छ । नियमित नवीकरण गराएका सवारी साधन तथा सदस्यहरुका लागि मात्रै उक्त व्यवस्था रहेको छ ।

चालकले चलाएको गाडीको चालु महिनाको मासिक शुल्क अनिवार्य रूपमा भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको छ भने सुविधाका लागि चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरी गाडी चलाएमा कुनै पनि सुविधा उपलब्ध गराउने छैन । परिचय पत्र भएता पनि संघमा दर्ता नभएको टिपर वा अन्य कुनै गाडी चलाएमा सुविधा उपलब्ध हुने छैन ।

संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी धनी (सदस्य) को एकाघरको परिवारको निधन भएमा संघबाट राहत स्वरूप पच्चिस हजार) गाडी धनी सदस्यलाई सहयोग गर्नेछ । एकाघरका भन्नाले पति पत्नी, आमा, बुवा, दाजु, भाइ र विवाह नगरेका दिदी बहिनीलाई जनाउनेछ ।

संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी धनी (सदस्य) बिरामी भई कुनै पनि रोगको शल्य क्रिया गरेमा, हृदयाघात, मष्तिकघात, किड्नी, क्यान्सर आदी रोग लागेको अवस्थामा उपचार खर्च बापत ५० हजार उपलब्ध गराउँदै आएको छ ।

संघमा दर्ता भएका र नियमित मासिक शुल्क भुक्तानी भई रहेका गाडीहरू दुर्घटना भएमा तेस्रो पक्ष घाइते भई उपचार गर्नु परेमा तीन लाख सम्म बिमाबाट र औषधी उपचारको विलमा संघले थप तीन लाख तिरिदिनेछ । त्यो भन्दा माथि खर्च भएमा संघबाट ८० प्रतिशत र गाडी धनीबाट २० प्रतिशत तिर्दै जाने, तेस्रो पक्षको मृत्यु भएमा पाँच लाख सम्म संघले तिरी दिने र सोको भुक्तानी बिमाबाट संघले लिने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

बागमती टिपर व्यवसायी संघ–गाडी धनीहरूको लागि मात्र होइन, मजदुरहरूको लागि पनि हो भन्ने मान्यतालाई मध्य नजर गर्दै बागमती टिपर व्यवसायी संघले मजदुरहरूको आउने समस्यालाई विशेष ध्यानमा राखी चालक तथा सह–चालकहरू डयूटी समयमा गाडी दुर्घटना भई मृत्यु भएमा परिवारको हकवालालाई तीन लाख संघबाट सहयोग उपलब्ध गराउने छ ।

चालक तथा सह–चालकको प्राकृतिक (काल गतिले) मृत्यु भएमा पनि परिवारको हकवालालाई एक लाख संघबाट सहयोग उपलब्ध गराउनेछ । चालक तथा सह–चालक दुर्घटना भई अङ्ग भङ्ग भई काम गर्न नसक्ने अवस्थामा सम्बन्धित व्यक्तिलाई दुई लाख संघबाट सहयोग उपलब्ध गराउनेछ । साथै बिमाबाट पनि नियमानुसार क्षति पूर्ति पाउने छ ।

चालक तथा सह–चालक अन्य अवस्थामा बिरामी भएमा बिरामीको अवस्था हेरी बढीमा पचास हजार उपचार खर्च दिइनेछ । त्यस्तो उपचारका लागि कुनै पनि रोगको शल्य क्रिया, हृदयाघात, मष्तिकघात, किड्नी, क्यान्सर भएमा उपलब्ध हुने अध्यक्ष सुरेशकुमार खत्रीले जानकारी दिनुभयो ।