पर्यटन मन्त्री आले र इजरायली राजदूतबीच भेटवार्ता


विमल विष्ट, काठमाडौं।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँ बिच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिनुभयो । सोही क्रममा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक रहेको जानकारी समेत दिनुभयो ।

साथै भेटवार्ताका क्रममा मन्त्री आलेसँग राजदूत गोदरले दुई हप्ता भित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको ए ३३० जहाज भाडामा लिन इच्छुक रहेको बताउनुभयो । यसै गरी राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गर्नु भएको थियो ।

राजदूत गोदरसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल र इजरायल बिच सिधा हवाई सम्पर्कका लागि आफूहरू तयार रहेको बताउनुभएको थियो । नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडा दर घटाउन पहल गर्ने मन्त्री आलेले राजदूत गोदरलाई आश्वासन समेत दिनुभयो ।

भेटवार्ताकै क्रममा राजदूत गोदरले गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिल्म हेर्न मिल्ने प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेटको इजरायलको फिल्म हेर्ने कार्यक्रमको प्रमुख आतिथ्यता लागि मन्त्री आलेलाई निमन्त्रण समेत गर्नुभयो ।

दुई हप्ता पछि उक्त कार्यक्रम नेपालको सोल्टी होटेलमा उद्घाटन गरिने जनाइएको छ । भेटकै क्रममा मन्त्री आलेले नेपालको विविध क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन वा जीटूजी मार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदूत गोदरसँग आग्रह गर्नुभयो । सो विषयमा राजदूत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिनु भएको छ ।